रुकुम पूर्व– रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा अब सबै वडा कार्यालयको आफ्नै भवन हुने भएको छ । यस आर्थिक वर्षमा १४ वटा वडा रहेको पुथाउत्तरगंगामा चालू आर्थिक वर्षमा नयाँ ७ वटा वडा कार्यालय भवन निर्माण थालिएको हो ।
गाउँपालिकाको वडा नम्बर ४ अर्जलबाहेक यस आर्थिक वर्षमा ७ वटा नयाँ वडा कार्यालय भवन निर्माण सुरु भएको छ । यसैगरी साविक ४ वटा गाविसको कार्यालय र गत वर्ष निर्माण गरिएको २ वटा भवनसँगै हाल ६ वटा वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिइरहेका छन् ।
यस आर्थिक वर्षमा वडा नम्बर १४ राङ्सी, ७ को जाङ, ११ को दमचन, १३ को पिलतुङ, ९ को खाराबाङ, ६ को मयाङ र ५ को हुकाममा यस आर्थिक वर्ष वडा कार्यालयको भवन निर्माण भइरहेको वडा नम्बर ८ का वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता भीमबहादुर मल्लले जानकारी दिए ।
सडकको पहुँचमा रहेका वडाका लागि २० र सडकको पहँुचमा नभएका वडा कार्यालय भवन निर्माणका लागि २५ लाख रुपैयाँका दरमा गाउँपालिकाले बजेट विनियोजन गरेअनुसार भवन निर्माण सुरु भएको मल्लले बताए ।
सडकको पहुँचमा रहेका जाङ, राङ्सी, पिपलतुङ, दमचनका लागि २० लाख रुपैयाँका दरको बजेट विनियोजन गरिएको छ भने खाराबाङ, हुकाम र मयाङ वडा कार्यालयका लागि २५ लाख रुपैयाँको बजेट रहेको गाउँपालिकाले जनाएको छ ।
गत वर्ष वडा नम्बर २ को पेल्मा र ३ को रन्मामा वडा कार्यालय भवन निर्माण गरिएसँगै साविक गाविस भवन रहेको वडा नम्बर १२ को कोल, १ को मैकोट, ३ को रन्मा र ८ को चारगाउँमा हाल आफ्नै वडा कार्यालय भवनबाट सेवा दिइरहेका छन् । तर, वडा नम्बर १० को तकमा साविक तकसेरा गाविसको भवनमा हाल गाउँपालिका बसिरहेको पालिकाका उपाध्यक्ष ओमकुमारी शाही (मल्ल) ले बताइन् ।
गाउँपालिकाका लागि स्थानीयले जग्गा उपलब्ध गराएकाले पालिकाको प्रशासनिक भवन निर्माण भए वडा नम्बर १० लाई भवन छाडिदिने शाहीको भनाइ छ । वडा नम्बर १० ले हाल भाडाको घरबाट सेवा प्रवाह गरिरहेको छ । यस आर्थिक वर्ष निर्माण भइरहेका ७ र यसअघिका ६ वटा गरी चालू वर्षमा वडा नम्बर ४ वडाबाहेक १३ वटा वडाको आफ्नै भवन हुनेछ ।