डडेल्धुरा- अजयमेरू गाउँपालिकाले डडेल्धुरा अस्पताल डडेल्धुरालाई १० लाखको चेक हस्तान्तरण गरेको छ। आइतबार डडेल्धुरा अस्पतालमा सञ्चालन भएको पीसीआर ल्याब सञ्चालन तथा संकट समाधानका लागि गाउँपालिकाले अस्पताललाई १० लाखको चेक हस्तान्तरण गरेको हो।
सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको केन्द्र विन्दुमा रहेको डडेल्धुरा अस्पतालमा कोरोना परीक्षण ल्याब स्थापना भइ पीसीआर परीक्षण भइरहेको छ।
कोरोना नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्यले स्थापना भएको प्रयोगशालालाई अझ व्यवस्थित गर्न गाउँपालिकाले अस्पताललाई आर्थिक सहायता गरेको अजयमेरू गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले बताए।
कोरोनाको महामारी शुरु भएसँगै डडेल्धुराका स्थानीय तहहररूले डडेल्धुरा अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने र उक्त प्रयोगशाला सञ्चालनका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सोही प्रतिबद्धता अनुसार अस्पताललाई १० लाख सहयोग गरेको गाउँपालिकाका अध्यक्ष भट्टले बताए ।
डडेल्धुरामा कोरोना परिक्षण ल्याब सञ्चालनमा आएपछि डडेल्धुरा लगायत सुदूरपश्चिमका अन्य जिल्लाहरूको पीसीआर परिक्षण हुँदै आएको र पछिल्लो समय अस्पतालले प्रदान गर्ने सेवा सुविधाहरूमा पनि सुधार हुँदै गएको अस्पताल विकास समिति अध्यक्ष करूणाकर ओझाले बताए।
जनस्तरबाट चन्दा संकलन गरि डडेल्धुरा अस्पतालमा गत असारमा पीसीआरजाँच गर्ने मेसिन जडान गरिएको थियो। कोरोना परिक्षण प्रयोगशालालाई व्यवस्थापन र आवश्यक जनशक्तिको व्यवस्थापन गर्न यहाँका सातवटै स्थानीय तहले रकम उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए।
यसअघि अमरगढी नगरपालिकाले २० लाख र नवदुर्गा र गन्यापधुरा गाउँपालिकाले १० लाख रकम सहयोग गरेको विकास समिति अध्यक्ष ओझाले बताए।