ताप्लेजुङ- ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक तथा कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीलाई ज्याकेट वितरण गर्ने भएको छ ।
झन्डै २० लाख रुपैयाँको लागतमा ज्याकेट खरिदका लागि प्रक्रिया अघि बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापोले जानकारी दिए ।
उनका अनुसार न्यू हिमालय ट्रेर्डस काठमाडौंमार्फत ज्याकेट खरिद प्रक्रिया अघि बढेको हो ।
६ वडा रहेको गाउँपालिकाभित्रका ज्येष्ठ नागरिक तथा कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि खरिद गरिने ज्याकेटका लागि खुलाइएको बोलपत्रमा न्यू हिमालय ट्रेर्डसको बोलपत्र उपयुक्त देखिएकाले उसैलाई खरिद जिम्मेवारी दिइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको चालू आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रममार्फत ज्याकेट खरिद गरी वितरणको तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत तुम्वापोले बताए ।
मैवाखोलामा साविकका ढुंगेसाँघु, साँघु र फाकुम्बा गाविस समेटिएका छन् । साविकको ढुंगेसाँघुलाई गाउँपालिकाको वडा नम्बर १ र २, साविक साँघु गाविसलाई वडा नम्बर ३ र ४ तथा साविक फाकुम्बा गाविसलाई वडा नम्बर ५ र ६ को रूपमा प्रशासकीय विभाजन गरिएको छ ।