ताप्लेजुङ– सामाजिक सुरक्षा भत्ता बैंकमार्फत नै वितरण गर्ने व्यवस्थाका लागि प्रक्रिया सुरु गरेको सिरिजङ्घा गाउँपालिकाले वडा नं. ३ सिकैचाका प्रत्येक घरधुरीमा पुगेर बैंक खाता संचालनमा ल्याएको छ ।
सिरिजङ्घा गाउँपालिकामा संचालनमा रहेको नेपाल बैंक लिमिटेडका कर्मचारी जनप्रतिनिधिसहित सामाजिक सुरक्षा भत्ता पाउने सिकैचाका प्रत्येक घर पुगेका छन् । घरघरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न खाता संचालनमा ल्याउने गरी घरघरमै गई खाता खोलिएको वडा अध्यक्ष सन्तोष चाम्लिङले जानकारी दिए ।
नेपाल सरकारले अब बैंकमार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था गरिसकेको छ । आउँदो वर्षको मंसिर महिनादेखि देशभरका सबै स्थानीय तहले अनिवार्य रूपमा बैंकिङ् प्रणालीमार्फत मात्र सामाजिक सुरक्षा भत्ता वितरण गर्न पाउने प्रावधान छ । सरकारले गत मंसिर महिनादेखि स्थानीय तह तोकेरै अनिवार्य रूपमा बैंकमार्फत मात्र सामाजिक सुरक्षा भत्ता वितरणको प्रावधान सुरु गरेको छ ।
सिरिजङ्घा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले पालिकाभरको सामाजिक सुरक्षा भत्ता अनिवार्य बैंकमार्फत मात्र वितरणको व्यवस्था भइरहेको बताए । ‘यो प्रक्रिया द्रुत गतिमा अघि बढिरहेको छ’, उनले भने ।