काभ्रे - नमोबुद्ध नगरपालिकाको भकुण्डे बजार क्षेत्रमा झण्डै एक दशकदेखि बेवारिसे अवस्थामा बस्दै आएका एक वृद्धको उद्धार गरिएको छ ।
नगर प्रमुख टिपी शर्मा तिमल्सिना लगायत जनप्रतिनिधि र स्थानीय समाजसेवीको पहलमा उनलाई उद्धार गरी मानव कल्याण समाज काभ्रे शाखामा पठाइएको छ ।
अन्दाजी ६० बर्षका ती वृद्ध भकुण्डे क्षेत्रमा मागेर हिँड्थे । भारतको महाराष्ट्र घर बताउने उनको स्वास्थ्य उपचारको व्यवस्था नगरप्रमुख तिमल्सिनाको पहलमा मेथिनकोट अस्पतालमा हुने गरेको थियो ।
नगर प्रमुख तिमल्सिनाले उनलाई लत्ताकपडा लगायतको व्यवस्था गरिदिएका थिए । पछिल्लो समय मेथिनकोट अस्पतालमै उपचारको क्रममा रहेका उनी केही दिनयता फेरि अस्पतालबाट निस्किएर सडकमा आइपुगेका थिए ।
ती वृद्धको उद्धारका लागि नमोबुद्ध नगरपालिका ७ का वडाअध्यक्ष धर्मसिं लामा, समाजसेवी शंकर गिरी, प्रहरी चौकी भकुण्डेको टोली समेत खटिएको थियो । स्थानीय समाजसेवी गिरीले लामो समयदेखि उनलाई खानपानमा सहयोग गर्दै आएका थिए । गिरी लगायतको टोलीको नेतृत्वमा उनलाई केही दिनअगाडि मेथिनकोट अस्पतालमा उपचारका लागि लागिएको थियो ।
आइतबार साँझ मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईंसहितको टोली भकुण्डे पुगेर उनलाई धुलिखेलस्थित समाजको सेवाघरमा ल्याइएको छ । अब उनको खानपानदेखि सबै व्यवस्था उक्त सेवाघरबाट हुने अध्यक्ष चौलागाईंले बताइन् ।
मानव कल्याण समाजको धुलिखेलस्थित सेवा घरमा २५ जना छन् भने केन्द्रीय कार्यालयमा ५० जनाले आश्रय लिइरहेका छन् । सडकमा बेवारिसे अवस्थामा पुगेकालाई पुनर्स्थापना गर्ने र अन्य मानिसलाई सडकमा जान नदिन विभिन्न कार्यक्रमहरु समाजले गरिरहेको छ ।