रुकुम पश्चिम– जिल्लाको मुसीकोट नगरपालिकाका ६ सय परिवारले राहत पाएका छन् । नगरका १४ वटै वडाका कोभिड प्रभावित, बाढी पहिरोपीडित, अपाङगता भएका व्यक्ति, एकल महिला, विपन्न, दलित र अल्पसंख्यक परिवारलाई नगरपालिकाले विभिन्न खाद्य सामग्री वितरण गरेको हो ।
६ सय परिवारलाई ३० केजीको ६ सय बोरा चामल, १ हजार ८ सय केजी दाल, ६ सय केजी नुन, ६ सय लिटर तेल र १ हजार ८ सय पिस हात धुने साबुन वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
प्रतिपरिवार ३० केजी चामल, एक केजी दाल, एक केजी नुन, एक लिटर तेल र ३ पिस साबुन वितरण गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरविर खड्काले जानकारी दिए । उनका अनुसार प्रतिपरिवार १८ सय ७३ रुपैयाँका दरले राहात वितरण भएको छ ।
राहात वितरणमा लागि ११ लाख २३ हजार ८ सय रुपैयाँ खर्च भएको खड्काले जानकारी दिए । वडाले सिफारिस गरी पठाएका परिवारलाई राहत दिइएको हो ।
नगरपालिकामा सिफारिस भए अनुसार प्रत्येक वडामा कुपन पठाएको र उक्त कुपन देखाएर सिफारिसमा परेका परिवारले नगरपालिकाले तोकेका खाद्यान्न पसलबाट खाद्यान्न सामग्री लिएको बताइएको छ ।
नगरपालिकाले यस अघि पनि कोभिड–१९ का कारण समस्यामा परेका परिवारलाई विभिन्न चरणमा राहत स्वरुप खाद्य सामग्री वितरण गरेको थियो । कोभिड महामारीका कारण काम गर्न नपाएपछि विभिन्न वर्ग तथा समुदाय पीडामा छन् ।