खोटाङ– नागरिकलाई आफ्नै गाउँठाउँमा पुगेर सेवा सुविधा उपलब्ध गराउने लक्ष्यका साथ खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले एकीकृत सेवा केन्द्र सुरु गरेको छ ।
नागरिकलाई ‘गाउँगाउँमा सिंहदबार’ भन्ने नाराको अनुभूति गराउने लक्ष्यका साथ हलेसी तुवाचुङ नगरपालिका– ६ मंगलटारको भदौरेमा एकीकृत सेवा केन्द्र संचालनमा ल्याइएको हो ।
वडा कार्यालयबाट प्रवाह हुने सबै किसिमका सेवा सुविधा जनताको घरदैलोसम्म पु¥याउने लक्ष्यका साथ मंगलटारको दूरदराजमा एकीकृत सेवा केन्द्र स्थापना गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए ।
साविकको मंगलटार ४ र ५ नम्बर वडाका १३० घर परिवारलाई लक्षित गर्दै नगरपालिकाले ‘जनताको घरः स्थानीय सरकार’ भन्ने नारासहित भदौरेमा एकीकृत सेवा केन्द्र संचालन गरेको हो ।
नगरपालिका र वडा कार्यालय मंगलटारको चार लाख ५० हजार रुपैयाँमा निर्माण गरिएको दुई कोठे एकीकृत सेवा केन्द्र बुधबार नगरप्रमुख राई र उपप्रमुख बिमला राईले उद्घाटन गरेका छन् ।
दशैँ पछाडि एकीकृत सेवा केन्द्रमा कर्मचारी खटाएर कम्तीमा हप्ताको दुई दिन सेवा उपलब्ध गराउने तयारी गरिएको नगरपालिकाले जनाएको छ । एकीकृत सेवा केन्द्रबाट गाउँघर क्लिनिक, खोपलगायतका स्वास्थ्य सेवासमेत उपलब्ध गराइनेछ । केन्द्रबाट नागरिकका गुनासो, मुद्दा वा माग पनि संकलन गरिने प्रमुख राईले बताए ।
‘वडा कार्यालयबाट प्रवाह हुने सबै सेवालाई वस्तीवस्तीमा अर्थात् जनताको घरदैलोमा पु¥याउने हाम्रो लक्ष्य हो’, प्रमुख राईले भने, ‘ताकि जनताले सामान्य सेवाका लागि वडा कार्यालयसम्म धाउन नपरोस् । यसले संघीयताको खास अभ्यास र अनुभूति हुने अपेक्षा गरेका छौँ ।’
वडा कार्यालय टाढा पर्ने क्षेत्रका नागरिकलाई लक्षित गर्दै सेवा केन्द्रको अवधारणा अघि सारिएको हो । वडा कार्यालयको सेवा आफ्नो गाउँमै उपलब्ध हुने भएपछि स्थानीय उत्साहित बनेको वडा अध्यक्ष रमेश राउतले बताए । एकीकृत सेवा केन्द्र संचालनका लागि मंगलटारकै साविकका ८ र ९ नम्बर वडाका सर्वसाधारणलाई लक्षित गर्दै घुर्चुमा पनि भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
मंगलटारमा गरिएको सेवा केन्द्रको अभ्यास प्रभावकारी देखिए हलेसी तुवाचुङ नगरपालिका– १ बाहुनीडाँडा र हलेसी तुवाचुङ नगरपालिका– २ डिकुवामा पनि विस्तार गर्ने लक्ष्य राखिएको प्रमुख राईले बताए ।