रुकुम–पूर्व - भूमे गाउँपालिकाले आफ्नो लोगो बनाएर प्रयोगमा ल्याएको छ । भूमेले लोगो निर्माण गरेर प्रयोग गरेको एक वर्ष पुग्दा पनि अन्य २ स्थानीय तहले भने बनाएका छैनन् ।
नेपाल सरकारको निशान छापसँगै भूमेले आफ्नो छ्ट्टै सामाजिक, सांस्कृतिक, प्राकृतिक तथा भौगोलिक पहिचान झल्कने लोगो बनाएर प्रयोग गर्दै आएको छ ।
खुला प्रतिस्पर्धाबाट लोगो छनोट गरेर प्रयोगमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिए । त्यसका लागि गाउँ कार्यपालिकाबाट खुला प्रतिस्पर्धाको सूचना आह्वान गरिएकामा ६ लोगो प्राप्त भएको थिए ।
रुकुमपश्चिम मुसिकोट नगरपालिका–२ का टेकबहादुर रोका र नेपालगन्जका पुष्करराज बस्नेतले बनाएका लोगो छनोट गरी गाउँपालिकाले प्रचलनमा ल्याएको हो ।
रोकाले बनाएको डिजाइनमा बस्नेतको नारा ‘सफा र हरियाली ः समृद्ध भूमे’ लाई संयोजन गरेर कार्यपालिकाले लोगोको अन्तिम रूप दिएको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताए ।
‘अहिले नेपाल सरकारको निशान छाप र गाउँपालिकाको लोगो दुवै प्रयोग गर्दै आएका छौं,’ अध्यक्ष बुढाले भने, ‘उक्त लोगोमा भूमे गाउँपालिकाको विभिन्न सामाजिक, सांस्कृतिक तथा भौगोलिक पहिचान झल्कने चित्र समेटिएको छ ।’
चुनवाङ सहिद गेट, लालीगुराँस, मगर समुदायको पहिचान खुर्पेटो (खोर्लके) मा हँसिया, गाउँपालिकाको नक्सा, हिमाल र कृषि उत्पादनको चित्र उल्लेख गरिएको छ ।
लोगो बनाउने रोका र बस्नेतलाई क्रमशः नगद १५ हजार र ५ हजार रकमसहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ । लोगोका लागि सूचना आह्वान गर्दा नै नगद २० हजार रकम प्रदान गर्ने भनिएको थियो ।
भूमे गाउँपालिकाले आफ्नो पहिचानसहितको लोगो निर्माण गरेर प्रयोगमा ल्याइसकेको छ भने जिल्लाका पुथाउत्तरगंगा र सिस्ने गाउँपालकाले दुई स्थानीय तह आफ्नो लोगो बनाएका छैनन् ।