तुलसीपुर उपमहानगरका नगरप्रमुख घनश्याम पाण्डेले जनप्रतिनिधिको ५० प्रतिशत सेवा–सुविधा कोरोना संक्रमणको उपचारमा लगाउन आग्रह गरेका छन् । कोरोना संक्रमणका कारण देशको अर्थतन्त्र कठिन अवस्थामा पुगेको भन्दै नगरप्रमुख पाण्डेले यस्तो धारणा व्यक्त गरेका हुन् ।
हाल तुलसीपुर उपमहानगरका जनप्रतिनिधिले १ महिनाको शतप्रतिशत सेवा–सुविधा कोरोना उपचारमा सहयोगस्वरुप उपलब्ध गराउँदै आएको उनले जानकारी दिए ।
‘कोरोनाले आर्थिक र स्वास्थ्य क्षेत्रमा पारेको प्रभाव कम गर्नका लागि जनप्रतिनिधिको ५० प्रतिशत, स्वास्थ्य र सुरक्षाकर्मीबाहेकका कर्मचारीको तलब २५ प्रतिशत कटौती गरौं,’ नगरप्रमुख पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन् ।
तलब कटौती गरेको रकम अस्पताल निर्माण, मल कारखाना स्थापना र कृषि तथा खाद्यान्न उत्पादन, रोजगारी सिर्जनामा लगाउनसमेत उनको सुझाव छ ।