स्वामीकार्तिक खापर गाउँपालिकाको स्थानीय न्यायिक समितिमा एउटा रोचक लाग्ने निवेदन आउँछ । एक निजी संस्थामा काम गरिरहेकी राधा (परिवर्तित नाम) बैंक खाता खोल्न समस्या भयो भन्दै निवेदन लिएर आएकी थिइन् ।
बैंक खाता बैंकमा खोल्नुपर्ने हो । तर राधा गाउँपालिकाको न्यायिक समितिमा आइन् । खाता खोल्ने ठाउँ थाहा नपाएर गाउँपालिकामा उनी आएकी होइनन् । त्यसैले खाता खोल्ने फारम होइन, श्रीमानको घरबाट नागरिकता लिन सहयोग पाउँ भन्दै निवेदन लिएर आएकी थिइन् ।
राधा र उनका श्रीमान् कृष्ण (परिवर्तित नाम) बीच ५ वर्ष प्रेम चलेको थियो । त्यसपछि उनीहरूबीच परम्पराअनुसार विवाह भयो । बिहे गरेको करिब २ वर्षसम्म राम्रै घर व्यवहार चलिरहेको थियो । उनीहरूको मायाको चिनो एउटा सन्तान लाभ पनि भयो । त्यसपछि घरमा श्रीमान् र श्रीमतीबीच दैनिक झगडा हुन थालेपछि राधाले घर त्यागेर माइत बस्ने निर्णय गरिन् । उनी माइतमै बसिन् । कृष्ण लिन गएनन् । राधा र कृष्णबीचको सम्बन्ध जटिल हुँदै गयो । कृष्णले 'घर आइस् भने सिँधै काट्छु' भनेर धम्क्याउन थाले ।
उनीहरूको झगडा मिलाउने पुलको काम कसैले गरेको थिएन । राधा माइत बसेको पनि डेढ वर्ष भइसकेको थियो । माइत बसेपछि राधाले आफ्नो सन्तानको जिम्मेवारी बहन गर्नै पर्यो । श्रीमानसँगको सम्बन्ध ठीक नभए पनि सन्तानको भविष्यका लागि र आफ्नै पकेट खर्चका लागि भए पनि जागिर खानुपर्यो भनेर उनले एक निजी संस्थामा जागिर खान थाल्छिन् ।
पहिलो महिनाको पहिलो तलब पाक्यो अनि समस्यामा परिन् राधा । किनभने तलब क्यास नदिने भन्दै जागिर खाएको ठाउँबाट बैंक खाता मागिएको थियो । तर राधाले त्यतिबेलासम्म कुनै खाता खोलेकै थिएनन् । अनि राधाको नागरिकता थियो कृष्णसँग । उनले अनेक सोच्न थालिन् । सिधै गएर नागरिकता मागौं भने ज्यान मार्ने धम्की आइरहेको छ । नागकरिता नमागी बसौँ भने खाइपाइ आएको जागिर गुम्ने डर । त्यसपछि उनी स्वामीकार्तिक खापर गाउँपालिकाको स्थानीय न्यायिक समितिमा नागरिकता पाउँ भन्दै निवेदन लिएर पुगिन् ।
स्थानीय न्यायिक समितिमा निवेदन आइसकेपछि समितिले उनका श्रीमानलाई चिठी लेखेर छलफलका लागि बोलायो । छलफलको पहिलो दिन भनाभन र तथानाम धेरै नै चलेको थियो । उनीहरूबीच छलफल चलिरहेको बेला सुरक्षाकर्मी नै खट्नुपरेको थियो । दोस्रो दिन पनि छलफल चल्यो । नागरिकता लिने तर एकअर्का नमिल्ने विषयबाट सुरु भएको छलफल अन्ततः गाउँपालिकाको मेलमिलाप कर्ता र कानुन अधिकृत सुविष्त बहादुर शाहीको पहलमा उनीहरू मिल्ने भए । सँगै बस्न दुवै तयार भए ।
५ वर्षको प्रेमपछि बिहे गरी २ वर्ष सँगै बसेर डेढ वर्षदेखि छुटेका उनीहरू मिलेर घर जान तयार भए । कृष्णले राधाको नाममा बैंक खाता खोलिदिने भए । अनि छिमेकी र गाउँलेलाई साक्षी राखेर उनीहरू मिले । साथमा सन्तानको हात समाएर मिलापत्र गरी दुवैजना घरतिर लागे ।
उनीहरू समाज र गाउँपालिकाको अगाडिमात्र मिलेको हाे कि भनेर गाउँपालिकाको न्यायिक समितिले ३ महिना र ६ महिनामा उनीहरूको बारेमा ‘अनुगमन’ पनि गरेको थियो । तर उनीहरू साँच्चिकै मिलेर बसेका पाइएको कानुन अधिकृत सुविष्त बहादुर शाहीले बताए । उनले पालिकाखबरसँग भने, ‘न्यायिक समितिले उनीहरूको बिग्रेको घरबार मिलाइदिएको छ । गाउँपालिकाको न्यायिक समिति साँच्चिकै जनताको सारथी बनेको छ ।’