close

जीतपुरसिमराको नीति तथा कार्यक्रम सार्वजनिक

विकासका प्राथमिकता केकेमा ?

जीतपुरसिमराको नीति तथा कार्यक्रम सार्वजनिक

विकासका प्राथमिकता केकेमा ?

Trulli
ADVERTISEMENT

बारा ।  जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बाराको अमलेखगञ्ज स्थित होटल क्यु टवान्टीमा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख राजन पौडेलले नीति तथा कार्यक्रम घोषणा गरेका हुन् ।

कार्यक्रममा नगरले जनप्रतिनिधिको एक वर्षेे कार्यकालमा गरेका काम र आयोजनालाई २२ बुँदामा समेटेको छ । 

उपमहानगरको कार्यसम्पादनमा सरलता ल्याउन भन्दै ८ वटा ऐन, १४ वटा कार्यविधि र ३ वटा निर्देशिका गरी २५ वटा स्थानीय कानून बनाईसकेको नगरले बनेको कानून कार्यान्वयनमा ल्याउन पनि यसैवर्षदेखि कसरतमा लाग्ने भनिएको छ ।

नगरले आवधिक योजनाको प्रारम्भिक मस्यौदा तयार, सामुदायिक विद्यालय समायोजन, दरबन्दि मिलान, पहिलो पटक हिउँदे नगरसभा, सार्वजनिक जग्गा संरक्षण अभियान, काठमाडौं महानगरसँग भगिनी सम्बन्धको प्रकृया, भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा धनी वितरणको प्रकृयाको सुरुवात लगाएतका काममा नगरले एक वर्ष खर्चिएको भन्दै नगर प्रमुख पौडेलले आगामी वर्ष नीति तथा कार्यक्रममा समेटिएका आयोजनालाई पुर्ण कार्यान्वयनमा जोड दिने बताए ।

यसैगरी नगरले यो वर्ष नगरको सेवा प्रवाह नीतिमा प्रभावकारीता ल्याउने भएको छ । राजश्व तथा आर्थिक प्रशासनको क्षेत्रमा पनि महन्वकाक्षी नीति बोकेको नगरले स्वास्थ्य , शिक्षा, पुर्वाधार विकास, सहकारी सुशासन र फोहरमैला व्यवस्थापनमा विशेष नीति लिएको छ । 

महिला पुनः स्थापना केन्द्र स्थापना गरिने 

नगरले महिला पुनः स्थापना केन्द्र स्थापनाको लागी नीति बनाएको छ । महिला हिंसा वा कुनैपनि दमन वा अन्याममा परेका महिलाहरुको ब्यवस्थापनका लागि यो नीति बनाएको हो । कुनैपनि कारणले हिंसापछि मानसिक रुपमा बिछिप्त भएका महिलाहरुलाई यो केन्द्रले संरक्षण गर्नेछ । 

त्यसैगरी नगरका महिलाहरुको हकहित र कुनैपनी सामाजिक मानसिक समस्यामा परे पुनः स्थापना केन्द्रद्धारा उपचार पद्धतीको ब्यवस्था मिलाउने गरी नीति बनाइएको हो । नगरमा अन्यायमा परेका वा पारिएका, घरबारविहिन वा कुनैपनि कारणबाट बिस्थापित भएका महिलाहरुको ब्यवस्थापनका र न्याय सम्पादनका क्रममा अनुसन्धान वा अन्य कुनैपनि कारणले थुनामा राख्नुपरे पनी यो केन्द्रले सुरक्षा प्रत्याभुतिसहित ब्यवस्थापन गर्ने छ ।

स्वयमसेवक शिक्षक भर्ना
नगरले सामुदायिक विद्यालयको ब्यवस्थापनमा पनि आगामी वर्ष विशेष योजना बनाएको छ । दरवन्दी मिलान र विद्यालय मर्जरको अभियान संचालन गरिसकेको नगरले यो वर्ष नगरका विद्यालयमा रिक्त रहेका वा अस्थाई रुपमा नियुक्त भएका शिक्षकहरुको ब्यवस्थापनका लागि स्वयम सेवक शिक्षक नियुक्त गर्ने भएको छ । 

सामुदायिक विद्यालयको लेखा  व्यवस्थापनलाई प्रभावकारी बनाउन यो वर्षदेखि लेखांकन सफ्टवेयर पुर्ण रुपमा लागु गर्ने भएको छ । यस्तै नगरले आफ्नै पाठ्यक्रमको विकास गरी शिक्षालाई सिपसंग जाडने, कक्षा ९ सम्मको परिक्षालाई नगर मातहतमा ल्याउने, एक बिद्यालय एक नर्स कार्यक्रमलाई संचालन गर्ने लगाएतका नीति तथा कार्यक्रम बनाएको छ । 

नगरले आफ्ना नगरका विद्यार्थीको प्रोत्साहनका लागी एम.वि.वि.एस. र ईन्जिनियरिङ्ग पढ्नेलाघ छात्रवृत्ति प्रदान गर्ने समेत योजना बनाएको छ ।

प्लाष्टिक झोला विस्थापन

आगामी वर्षदेखि नगरले प्लाष्टिक झोला विस्थापनको नीति लिएको छ । प्रारम्भिक चरणमा २० माइक्रोन भन्दा माथिका झोला विस्थापन गर्दै विकल्पको व्यवास्था खोजी गरिने र कागजको झोला बिक्रीवितरण र उत्पादनलाई प्राथमिकतामा राखिने भएको छ । 

टाँगियावस्ती स्थानान्तरणमा न्यायोचित भुमिका निर्वाह गर्ने

नगरले १६ नम्बर वडामा पर्ने टाँगियावस्ती स्थानान्तरणका लागि कार्यकम गर्ने भएको छ । दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि नेपाल सरकार र प्रदेश सरकारको कार्यक्रममा उल्लेख भएको हुँदा उक्त क्षेत्रमा वसोवास गर्ने वासिन्दाहरुसंगको समन्वय र सहकार्यमा पहल थालिने भएको छ । जसका लागी स्थानीयवासीलाई न्यायोचित ढंगले आवश्यक व्यवस्थापन गरेर मात्रै आयोजनाको काममा पहल गरिने नीति लिईएको छ ।