close

‘कानुनी अनविज्ञताले न्याय सम्पादनमा सकस’

‘कानुनी अनविज्ञताले न्याय सम्पादनमा सकस’

Trulli
ADVERTISEMENT

कर्णाली– जिल्ला अदालत सुर्खेतका न्यायाधीश डा राजेन्द्र आचार्यले कानूनी अनविज्ञताले न्याय सम्पादनमा सकस भएको बताएका छन् । आर्फिक्स नेपालद्वारा शुक्रबार प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘कर्णाली ल कन्क्लेभ’ कार्यक्रममा बोल्दै न्यायाधीश डा आचार्यले कानुनी अनविज्ञताका कारण सामाजिक अपराधका घटना बढ्दै गएको बताए । ‘पछिल्लो समय सबैभन्दा बढी जबरजस्ती सम्बन्ध विच्छेदको घटना बढेका छन्,’ उनले भने, ‘सहमतिको आधारमा गरिने सम्बन्ध विच्छेदमा महिलालाई जबरजस्ती धकेलिएको हुन्छ । उनीहरुमा कानुनी अनविज्ञता नै देखिन्छ ।’

 

कर्णाली प्रदेश सरकारले बनाएको कानूनबारे अहिलेसम्म जिल्ला अदालतलाई थाहा नभएको उनको भनाइ थियो । उनका अनुसार जतिसक्दो नागरिकस्तरमा कानुनी सचेतना फैलाउनुपर्छ । 

 

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव झक्कप्रसाद आचार्यले प्रदेश सरकारले आवाश्यक नीति निर्माण गरी तिनको कार्यान्वयन गर्न तर्फ केन्द्रित रहेको जनाए । कानुनी सचेतनाका लागि स्थानीयस्तरमा विभिन्न सचेतनामूलक कार्यक्रमहरु गरिएको उनले बताए । 

 

छलफलको क्रममा मध्यपश्चिम विश्वविद्यालय ल क्याम्पसका पूर्वनिर्देशक डा अर्जुन ऐडीले विद्यार्थीहरु ज्ञान लिनेभन्दा पनि ‘सर्टिफकेट’ का लागि विश्वविद्यालय धाउने समस्या समाजमा प्रतिविम्बित भएको प्रतिक्रिया दिँदै विद्यार्थीले सिकेको कुरा व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । 

 

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले नगरपालिकामा आउने विवाद कानुनी प्रक्रियाबाटै समाधान गर्दै आएको बताइन् । न्यायिक समितिका संयोजकसमेत रहेकी उनले स्थानीय तहले १३ वटा विवाद निरुपण गर्ने अधिकार दिइएता पनि ११ वटा विवाद न्यायिक समितिले निरुपण गर्न पाउने बताइन् । यद्यपि स्थानीय तहका लागि कानुनी सल्लाहकारको आवाश्यकता रहेको उपप्रमुख ढकालको भनाइ थियो । 

 

यता कर्णाली प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा नवराज केसी, अधिवक्ता गीता कोइराला, सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवाली, सरकारी वकील दोर्ण पौडेल र कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले बाल विवाहले निम्त्याएका समस्याबारे अन्तरक्रिया गर्दै यो सबै खाले समस्याको जड भएको निष्कर्ष निकाले ।

 

युवा, विद्यार्थी, कानूनका जानकार र विज्ञहरुलाई एउटै मञ्चमा राखेर कानुनी क्षेत्रका समस्या र सम्भावित समाधानबारे छलफल गरेको ‘कर्णाली ल कन्क्लेभ’ कार्यक्रममा कानुन विषयमा अध्ययनरत युवा विद्यार्थीहरुले पर्याप्त कानुनी ज्ञानको कमी, बढ्दो बालविवाहले समस्या निम्त्याएका प्रतिक्रिया दिएका थिए ।

 

कानूनी अज्ञानता, बालविवाहको समस्या र तिनको समाधानबारे छलफल गरी त्यसको निक्र्योल निकाल्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजक संस्था अर्फिक्स नेपालका प्रमुख कार्यकारी निर्देशक सुवास रिसालले बताए । ‘कर्णाली ल कन्क्लेभ’ का संयोजक एकता देवकोटोले आगामी वैशाख २६ गते कानुन दिवसको अवसरमा काठमाडौंमा ‘कर्णाली ल कन्क्लेभ’ सिरिज आयोजना गर्ने बताइन् ।