close

सर्वोच्चमा अदालतमा सबै खाले मुद्दामा सुनुवाइ

सर्वोच्चमा अदालतमा सबै खाले मुद्दामा सुनुवाइ

Trulli
ADVERTISEMENT

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका थिए । पेसी तोकिएका इजलासमा सबै खालका मुद्दाको सुनुवाइ भएको छ ।


 
 प्रधानन्यायाधीश राणाले १० वटा इजलासमा पेसी तोक्नुभएको थियो ।  त्यसमध्ये आठवटा संयुक्त र दुईवटा एकल इजलास थिए । न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मी, न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र डा कुमार चुँडाल, न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र डा मनोजकुमार शर्माको संयुक्त इजलासमा सबै खाले मुद्दामा सुनुवाइ भएको हो । अरु इजलासमा भने बेन्च नबसेको, हेर्न नभ्याइने जनाएको हो ।  


 
यही कात्तिक ७ गते आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशहरूले सुनुवाइ गर्न इन्कार गरेका थिए ।


 
सर्वोच्च अदालतको यही कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशहरूलाई पनि संविधान र कानूनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन् ।


 
प्रधानन्यायाधीश राणाले सोमबार प्रेस विज्ञप्तिमार्फत आन्दोलनरत पक्षको माग सम्बोधनका लागि वार्तामा बोलाउँदै न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित अन्य प्रतिवेदन पनि कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।


 
अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । बेन्च बस्न नसक्दा न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् । आज संवैधानिक आयोगले पनि प्रेस विज्ञप्ति जारी गरी न्याय पाउने नागरिकको अधिकारलाई ध्यान दिन आग्रह गरेका छन् ।