close

पोखरा महानगरले व्यावसायिक बन्न तालिम दिँदै, तुलसीपुरका चार स्थानमा ‘डिजिटल बोर्ड’

पोखरा महानगरले व्यावसायिक बन्न तालिम दिँदै, तुलसीपुरका चार स्थानमा ‘डिजिटल बोर्ड’

Trulli
ADVERTISEMENT

पोखरा महानगरले व्यावसायिक बन्न तालिम दिँदै

कास्कीको पोखरा महानगरपालिकाले विभिन्न सीप तथा व्यावसायिक उद्यमशीलता तालिम प्रदान गर्ने भएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तर्गतको व्यवसाय प्रवर्द्धन केन्द्रको आयोजनामा विभिन्न १० विधामा दुई सय ४० जनालाई सीप तथा व्यावसायिक उद्यमशीलता तालिम प्रदान गर्न लागेको हो ।

छनोट भएकालाई अभिमुखीकरण गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरभित्र स्वरोजगार सृजना गर्दै उद्यमशीलता विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए।

तुलसीपुरका चार स्थानमा ‘डिजिटल बोर्ड’

सवारी दुर्घटना न्यूनीकरण गर्न दाङको तुलसीपुर उपमहानगरपालिका चार प्रमुख स्थानमा  ‘डिजिटल बोर्ड’ स्थापना गरिएको छ ।  ट्राफिक नियमको पालना गराउन तथा चेतना फैलाउने उद्देश्यले तुलसीपुरको बसपार्क, वीरेन्द्र चोक, गोटिखोला र जसपुरमा डिजिटल बोर्ड स्थापना गरिएका हुन् ।

तुलसीपुर उपमहानगरपालिकाका  प्रमुख टीकाराम खड्काले सोमवार आयोजित कार्यक्रममा मानवीय त्रुटिका कारण दुर्घटनाको जोखिम बढेको हुँदा सबै  सचेत हुनुपर्ने बताए। बजारमा व्यवसाय गर्दै गर्दा अरूलाई अप्ठ्यारो नहुने गरी व्यवसाय गर्न उनले सबैलाई आग्रह गरे। 

कृषकलाई  माछाका भुरा वितरण

तनहुँको म्याग्दे गाउँपालिकाले शतप्रतिशत अनुदानमा व्यावसायिकरूपमा माछापालन गरिरहेका कृषकलाई माछाका भुरा वितरण गरेको छ। 

सातवटै वडाका कृषकलाई ६० हजार माछाका भुरा वितरण गरिएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिए। माछापालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न र माछापालन व्यवसायमा टिकाइराख्ने उद्देश्यसहित गाउँपालिकाले अनुदानमा माछा भुरा वितरण गरेको उनले बताए । 

गाउँपालिकाद्वारा आँखा उपचार केन्द्र सञ्चालन

तनहुँको आँबुखैरेनी गाउँपालिकाले आँखा उपचार केन्द्र सञ्चालन गरेको छ । आँखाको उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्यका लागि भरतपुर आँखा अस्पतालसँगको सहकार्यमा गाउँपालिकाले आँखा उपचार केन्द्र सञ्चालन गरेको हो । 

उक्त उपचार केन्द्रको सोमबार शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सर्वसाधारणलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिए । 

जलजलाको सार्वजनिक स्थानमा सुर्ती र मदिरा वितरणमा रोक

पर्वतको जलजला गाउँपालिकाले सार्वजनिक स्थानमा सुर्ती, सुर्तीजन्य वस्तु र मदिराको बिक्री वितरण तथा प्रयोग नगर्न आग्रह गरेको  छ । 

जलजलाले एक सूचना जारी गर्दै विद्यालय, मठमन्दिर आसपासका क्षेत्रमा मदिरा तथा सुर्तीजन्य पदार्थको व्यापार नगर्नु तथा नगराउन अनुरोध गरेको छ । यदि कहीँकतै सो क्षेत्रभित्र व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीले अन्य वैकल्पिक स्थानमा सञ्चालन गर्नसमेत गाउँपालिकाले आग्रह गरेको छ ।

विपद् जोखिम न्यूनीकरणका लागि अत्याधुनिक साइरन जडान

विपद् जोखिम न्यूनीकरणका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका तीन ठाउँमा अत्याधुनिक साइरन जडान गरिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आर्थिक तथा प्राविधिक सहयोगमा विपद्को उच्च जोखिममा रहेका स्थानमा ती साइरन जडान गरिएका हुन् ।

नगरपालिकाको वन वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णप्रसाद भट्टका अनुसार साइरनबाट आगलागी, हावाहुरी, बाढी, डुबान, जङ्गली जनावरलगायत विषयमा सहज रुपमा सूचना प्रवाह गर्न सकिने छ । बीस सेकेन्डसम्मको सन्देश रेकर्ड गरेर सूचना प्रवाह गर्ने क्षमता साइरनमा रहेको उनले बताए। साइरनको आवाज एकदेखि डेढ किलोमिटरसम्म सुन्न सकिन्छ । 

सियारीमा प्रथम आवधिक योजना तयार गर्न गहन छलफल

रुपन्देहीको सियारी गाउँपालिकाले आगामी ५ वर्ष भित्र सम्पन्न गर्ने कार्यक्रम तयार गर्न  प्रथम आवधिक योजनाको गहन छलफल गरेको छ । गाउँपालिकाले आगामि दिनमा गर्ने कार्यक्रमका बिषयमा समस्टिगत सोंच, लक्ष्य, उद्धेश्य, रणनीति सहितको आवधिक योजनाका बिषयमा छलफल गरेको हो ।

पालिकाका अध्यक्ष, उपाध्यक्ष, सातैबटा वडाका अध्यक्ष, शाखा प्रमुख, बिषयगत प्रमुख, वडा सचिव, प्राबिधिक लगाएत कार्यपालिका सदस्य एवं अन्य कर्मचारीलाई समेटेर दुईदिन सम्म आबधिक योजनाका बिषयमा गहन रुपमा छलफल चलाएको छ।