close

पाँच दिने नेपाल भ्रमणमा महानिर्देशक बरमेजो, परिवार नियोजन क्षेत्रमा थप सहयोग गर्न प्रतिबद्धता जाहेर (भिडियाेसहित)

पाँच दिने नेपाल भ्रमणमा महानिर्देशक बरमेजो, परिवार नियोजन क्षेत्रमा थप सहयोग गर्न प्रतिबद्धता जाहेर (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं ।  अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डाक्टर अल्भेरो बरमेजोले  नेपाल सरकारसँग यौन तथा प्रजनन स्वास्थ्यमा लगानी बढाउन अनुरोध गरेका छन् । पाँच दिने भ्रमणमा नेपाल आएका महासंघका महानिर्देशक अल्भेरो बरेमेजोको स्वागतमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो अनुरोध गरेका हुन् । 

बरेमेजोले परिवार नियोजन तथा मातृ स्वास्थ्य र यौन तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा नेपाल परिवार नियोजन सङ्घले पुर्यावएको योगदानबारे प्रसंसा गरेका छन् । 

उनले समुदायस्तरमा यौन तथा प्रजनन स्वास्थ्य सेवाबारे जानकारी दिनको लागि नेपाल सरकारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । 

मूलुकभित्रका सीमान्तकृत, अल्पसंख्यक, आर्थिक रुपमा विपन्न तथा विभिन्न समुदायका व्यक्तिलाई यौन शिक्षाबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न उनको अनुरोध छ । 


महासङ्घका उच्च नेतृत्वबाट यो तहको दोस्रो पटक नेपाल भ्रमण भएको नेपाल परिवार नियोजन सङ्घले जनाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग महानिर्देशक डाक्टर बरमेजोले मङ्गलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा  द्विपक्षीय भेट गरेका छन्  ।

 भेटमा उनीहरुबीच स्वास्थ्य सेवा क्षेत्रका विविध विषयका कुराकानी भएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले महिलाको पाठेघरमा हुने क्यान्सरको जोखिम हुन नदिन अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघले नेपाल सरकारमार्फत थप स्वास्थ्य सेवाका कार्यक्रम विस्तार गर्न र लगानी बढाउन आग्रह गरेका छन् । 

महानिर्देशक बरमेजोले अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घद्धारा सञ्चालित  ‘हर्मोनल तथा लेजर थेरापी’ क्लिनिकको निरीक्षण गरेका छन् ।  कार्यक्रममा सङ्घका अध्यक्ष हिमालय लाल कसजु र व्यवस्थापक डाक्टर नरेशप्रताप केसीले सङ्घका गतिविधिबारे बरमेजोलाई जानकारी दिएका थिए ।

महानिर्देशक डाक्टर बरमेजोले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उच्चपदस्थ नेतृत्वसँग नेपालमा यौन तथा प्रजनन स्वास्थ्य सेवाका बारेमा परामर्श गर्ने कार्यतालिका छ ।

यसैगरी भ्रमणका क्रममा उनले सङ्घको केन्द्रीय पदाधिकारी, उच्च व्यवस्थापन तथा युवा सदस्यसँग पनि भेटवार्ता एवंम् सङ्घद्वारा सञ्चालित कार्यक्रमका बारेमा जानकारी लिए । सोही क्रममा उनले मोरङको विराटनगरस्थित सङ्घको शाखा कार्यालय, सुनसरी इटहरीस्थित सङ्घको परिवार स्वास्थ्य सेवा केन्द्रको स्थलगत अवलोकन गर्ने कार्यक्रम छ । महानिर्देशक डाक्टर बरमेजोले भ्रमणका दौरानमा सङ्घका साझेदारी सङ्घ संस्था, दातृ निकाय, सञ्चारकर्मी तथा अल्पसङ्ख्यक समुदायका प्रतिनिधिसँग भेटवार्ता गर्ने जनाइएको छ ।

सङ्घले विभिन्न ३४ जिल्ला तथा तीन सय ५० पालिकामा यौन तथा प्रजनन स्वास्थ्य, परिवार योजना र महिला स्वास्थ्यसँग सम्बन्धित विभिन्न क्लिनिकल सेवा तथा प्रवद्र्धनात्मक सचेतना कार्यक्रमको आयोजना गर्दै आएको छ । परिवार योजना सेवामा सङ्घले राष्ट्रिय योगदान पुर्याउँदै आएको जनाएको छ । साथै, सिमान्तकृत र  जोखिममा रहेका समुदायको पहुँचमा प्रजनन स्वास्थ्य सेवा पुर्याुउन सङ्घले सहयोग गर्दै आएको छ । 

सङ्घका कूल सेवाग्राहीमध्ये ८८ प्रतिशत सेवाग्राही सिमान्तकृत तथा जोखिम समुदायमा छन् । कोरोना महामारीका बीचमा पनि सङ्घले सन् २०२१ मा लगभग ३६ लाख सेवा आफ्ना क्लिनिकमार्फत प्रदान गरेको थियो । महासङ्घ यौन तथा प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा कार्य गर्ने सबैभन्दा ठूलो विश्वव्यापी सञ्जाल भएको संस्था हो ।

महासङ्घमा विश्वका एक सय ४२ देशका परिवार नियोजन सङ्घ आबद्ध छन् । नेपाल परिवार नियोजन सङ्घ पनि अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घको सदस्य हो । सङ्घले सन् १९६० मा यस महासङ्घको अस्थायी सदस्यता तथा सन् १९६९ मा पूर्णकालीन सदस्यता प्राप्त गरेको थियो । सदस्यता प्राप्त गरेदेखि नै सङ्घले परिवार नियोजन तथा मातृ स्वास्थ्य र यौन तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा काम गर्नका लागि नियमित वार्षिकरूपमा उक्त महासङ्घबाट आर्थिक तथा प्राविधिक सहयोग प्राप्त गर्दै आइरहेको छ ।