close

अव्यवस्थित तार हटाउँदै वीरगंज महानगर, नार्पाभूमिले बिरामी बोक्न हेलिकप्टरको भाडा बेहोर्दै (भिडियाेसहित)

अव्यवस्थित तार हटाउँदै वीरगंज महानगर, नार्पाभूमिले बिरामी बोक्न हेलिकप्टरको भाडा बेहोर्दै (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

अव्यवस्थित तार हटाउँदै वीरगंज महानगर

पर्साको वीरगंज महानगरपालिकाले नगर क्षेत्रभित्र अव्यवस्थितरूपमा राखिएका इन्टरनेट तथा टेलिफोनका तार हटाउन थालेको छ ।  

अव्यवस्थित तारका कारण नगर क्षेत्रमा दुर्घटनाको सम्भावना बढेकाले महानगरपालिकाले अव्यवस्थितरूपमा राखिएका इन्टरनेट तथा टेलिफोनका तार हटाउन थालेको हो । पहिलो चरणमा आइतबारदेखि घन्टाघर क्षेत्रबाट अव्यवस्थित तार हटाउने काम सुरु गरिने महानगरका प्रशासन शाखा प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिए। 

नार्पाभूमिले बिरामी बोक्न हेलिकप्टरको भाडा बेहोर्दै

मनाङको  नार्पाभूमि गाउँपालिकाले बिरामीलाई हेलिकप्टरमा उद्धार गर्दैआएको छ । सडकको पहुँच नहुँदा स्थानीयलाई उपचार गर्न हुने समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले कुल भाडाको ५० प्रतिशत बेहोर्दै बिरामीलाई हेलिकप्टरमार्फत उपचारमा सहयोग गर्न थालेको हो।

स्थलमार्गको सहज पहुँच नहुँदा बिरामी उपचारका लागि हेलिकप्टरको भर पर्नुपर्ने अवस्था रहेको गाउँपालिकाका अध्यक्ष कोञ्जोतेञ्जिङ लामाले बताए। गम्भीर बिरामीलाई उपचारको व्यवस्था गर्नु पालिकाको दायित्व रहेको उनको भनाई छ। 

खोप छुटेका बालबालिका पत्ता लगाउँदै काठमाडौं महानगरपालिका

नियमित खोप लगाउन छुटेका बालबालिका पत्ता लगाउन काठमाडौं महानगरपालिकाले बैशाख २४ गतेदेखि ३० गतेसम्म घरधुरी सर्वेक्षण गर्ने भएको छ । 

स्वास्थ्य विभागका महाशाखा प्रमुख सजिना महर्जनका अनुसार पूर्ण खोप सुनिश्चितता र प्रमाणीकरण गर्न, पूर्ण खोप घोषणा सुनिश्चितता निर्देशिका बमोजिम खोप लगाउन छुटेका बालबालिका खोजी गर्न लागिएको हो । यो खोजीबाट १६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकाहरुमा खोपको अवस्था पहिचान गरिनेछ । 

विनयी त्रिवेणीद्वारा पाठ्यपुस्तक निर्माण

नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाले स्थानीय पाठ्यक्रमअनुरुप कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निर्माण गरेको छ।

विद्यार्थीलाई गाउँपालिकाको समग्र अवस्थाका बारेमा जानकारी गराउने गरी कक्षा १ देखि ५ सम्मका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरिएको हो । गाउँपालिकाले आधारभूत तह १–८ लागि ‘हाम्रो विनयी त्रिवेणी’ नामको पाठ्यक्रम निर्माण गरेको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए ।

शिक्षामा गरिएको सार्वजनिक लगानीको प्रतिफल मापन अनुसन्धान गर्दै राप्ती

दाङको राप्ती गाउँपालिकाले शिक्षामा गरिएको सार्वजनिक लगानीको प्रतिफल मापन अनुसन्धान गर्न लागिएको छ। गाउँपालिकाले बिहिवार सामुदायिक र संस्थागत विद्यालयहरुका प्रधानाध्यापकहरुसंग अनुसन्धान लागि संकलन गरिने तथ्याङ्कको सन्दर्भमा अन्तर्क्रियात्मक छलफल कार्यक्रम समेत सम्पन्न गरेको छ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शिक्षा क्षेत्रमा देखिएका चुनौतीहरु लाई समाधान गर्न र आगामी दिनहरूमा आवश्यक पर्ने निति, नियम तथा विभिन्न योजनाहरु बनाउन यस कार्यक्रमले थप टेवा पुग्ने बताए ।

वैदेशिक रोजगारीमा गएका नागरिकको तथ्याङ्क सङ्कलन गर्दै महानगर

चितवनको भरतपुर महानगरपालिकाले वैदेशिक रोजगारीमा गएका व्यक्तिको विवरण सङ्कलन गर्ने भएको छ । कामको सिलसिलामा विभिन्न मुलुकमा गएका नागरिकको सही तथ्याङ्क लिन वैशाख १६ गतेदेखि विवरण सङ्कलन गर्न लागिएको हो । 

महानगरका २९ वटै वडामा गएर गणकले वैदेशिक रोजगारीमा गएका घरपरिवारका सदस्यसँग यथार्थ विवरण सङ्कलन गर्नेछन् । त्यसका लागि बिहीबारदेखि महानगरपालिकाले वैदेशिक रोजगारसम्बन्धी तथ्याङ्क सङ्कलन, अभिलेखीकरण तथा पाश्वचित्र निर्माण गर्न गणकलाई दुई दिने अभिमुखीकरण कार्यशाला गोष्ठी आयोजना गरेको छ । 

फोहरमैला व्यवस्थापन गर्न व्यासको चोकचोकमा सूचना बोर्ड
तनहुँको व्यास नगरपालिकाले फोहरमैला व्यवस्थापन गर्न  सूचना बोर्ड राखेको छ । नगरपालिकाले दमौली बजारको चोकचोकमा अव्यवस्थित तरिकाले फोहर नफाल्न सचेतनाका लागि सूचना बोर्ड र फ्लेक्स राखेको हो । 

नगरपालिकाका सरसफाइ शाखा प्रमुख भाग्यशाली ढुङ्गानाले बजारमा फोहरमैला व्यवस्थापनमा सहयोग गर्न अपिलसहित नगरपालिकाले ‘माइकिङ’ समेत गरेको छ । बजार क्षेत्रमा फोहरमैला जथाभावी फालिँदा वर्षायाम र अन्य समयमा पनि विभिन्न रोगको सङ्क्रमण बढ्नसक्ने भएकाले सचेतना जगाउन नगरपालिकाले सूचना बोर्ड र फ्लेक्स राखेको उनले बताए।