close

काठमाडौं महानगरद्वारा १०० जना नगर प्रहरी जवान माग, स्थानीय पाठ्यपुस्तकमा समेटिए संस्कृति र पर्यटन (भिडियाेसहित)

काठमाडौं महानगरद्वारा १०० जना नगर प्रहरी जवान माग, स्थानीय पाठ्यपुस्तकमा समेटिए संस्कृति र पर्यटन (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं महानगरद्वारा १०० जना नगर प्रहरी जवान माग

काठमाडौं महानगरपालिकाले करार पदमा नगर प्रहरी जवान माग गरेको छ। महानगरले आइतबार एक सुचना जारी गर्दै १०० जना नगर प्रहरी जवान माग गरेको हो। 

महानगरले नेपाल प्रहरी प्रहरी जवानको बैकल्पिक सूचीबाट ७३ जना र सशस्त्र प्रहरी जवानको बैकल्पिक सूचीबाट २७ जना नगर प्रहरीको लागि माग गरेको छ । नेपाल प्रहरी जवान २०७९ चैत १९ गते गृह मन्त्रालयको बैकल्पिक सुचीमा परेका नामहरुमध्ये हुनुपर्ने छ । आवेदन परेकामध्ये बैकल्पिक सूचीको योग्यताक्रमको आधारमा करारमा नियुक्त गर्ने महानगरले जनाएको छ। 

नगर प्रहरी जवानमा भर्ना हुन इच्छुक योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित सात दिनभित्र आवेदन दिनुपर्ने छ। 

शैक्षिक सुधारको लागि कार्यशाला

काठमाडौंको तारकेश्वर नगरपालिकामा सामुदायिक विद्यालयको शैक्षिक सुधारसम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नगरपालिकाले शिक्षा शाखाको आयोजनामा तारकेश्वर पालिका क्षेत्रभित्रको  गोष्ठी सम्पन्न भएको हो ।
 

गोष्ठीको उद्घाटनमा बोल्दै नगर प्रमुख कृष्णहरि महर्जनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि ल्याउन सकिएमा मात्र समग्र तारकेश्वरको विकासमा सहयोग पुग्ने बताएका छन् । 

स्थानीय पाठ्यपुस्तकमा समेटिए संस्कृति र पर्यटन

कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्थानीय कला, संस्कृति र पर्यटनलाई समेटेर आफ्नै पाठ्यपुस्तक प्रकाशनमा ल्याएको छ । नगरपालिकाले विद्यार्थीलाई आफ्नो क्षेत्रको प्राकृतिक, सामाजिक, ऐतिहासिक तथा धार्मिक सम्पदाबारे परिचित गराउने विषयवस्तु समावेश गरेर कक्षा १, २ र ६ को पाठ्यपुस्तक प्रकाशन गरेर कार्यान्वयनमा ल्याएको हो ।  

संघीय सरकारबाट स्वीकृत पाठ्यक्रमअनुसार नगरपालिकाले पाठ्यक्रम बनाई यसै शैक्षिक सत्रदेखि कक्षा १ देखि ८ सम्म पढाइ हुने गरी पाठ्यपुस्तक लागू गरेको भीमदत्त नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले बताए। 

बन्दीपुर केबलकारमा डिब्बा जडानको तयारी

तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन केबलकारका ‘डिब्बा’ जडानको तयारी थालिएको छ ।  बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले सो केवलकार निर्माण  गरिरहेको हो । 

लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले डिब्बा जडानका लागि सम्पूर्ण टावर तयार भइसकेको र अब डिब्बा जडानको कामलाई अगाडि बढाउन लागिएको जानकारी दिए। उनका अनुसार केबलकारका २१ डिब्बा आइपुगेको छ । केबलकारको परीक्षण आगामी वैशाख २५ गतेदेखि सुरु गर्ने तयारी छ ।

बैतडीका सुकुम्बासीको तथ्याङ्क सङ्कलन

बैतडीका पाँच स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन गर्ने काम सम्पन्न भएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति बैतडीका अध्यक्ष धर्मसिंह ऐरका अनुसार  पञ्चेश्वर, सुर्नया, शिवनाथ गाउँपालिका, पुर्चौँडी र पाटन नगरपालिकामा तथ्याङ्क सङ्कलन सम्पन्न भएको हो । 

तथ्याङ्क सङ्कलन भएका यी पालिकाले लगत सङ्कलनको काम सकेर आयोगमा तथ्याङ्क प्रविष्ट गरिसकेको आयोगले जनाएको छ । 

शिक्षामा छात्राको पहुँच बढाउन कन्या विद्यालय सञ्चालन

बाँकेको जानकी गाउँपालिकाले शिक्षामा छात्राको पहुँच बढाउन कन्या विद्यालय सञ्चालन गरेको छ । शैक्षिक सत्र २०८० देखि गाउँपालिकामा पहिलोपटक छात्राहरुका लागि विद्यालय सञ्चालन गरिएको हो । 

जानकी–३ मानपुरमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा छात्राका लागि मात्रै यस वर्षदेखि कक्षा छ सम्म अध्यापन सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए। 

अपांगता भएका व्यक्तिहरुको तथ्यांक संकलनका लागि गणकको माग

नुवाकोटको शिवपुरी गाउँपालिकामा अपांगता भएका व्यक्तिहरुको तथ्यांक संकलनका लागि गणकको माग गरिएको छ। परिवर्तनका निम्ती सहकार्य नेपाल संस्थाले पालिकाभित्र बसोबास गर्ने अपांगत भएका व्यक्तिको तथ्यांक संकलन गर्न लागेको हो। 

यसको लागि ८ जना गणक र एकजना सुपरभाइजर १५ दिनको लागि संस्थाले माग गरेको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले वैशाख १४ गतेभित्र संस्थामा निवेदन दिन सक्नेछन्।