close

जुगलमा करार सेवामा कर्मचारी माग, जगदुल्लामा स्वास्थ्य बीमा (भिडियाेसहित)

जुगलमा करार सेवामा कर्मचारी माग, जगदुल्लामा स्वास्थ्य बीमा (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

नयाँ वर्षको अवसरमा ‘रात्री बजार’ सञ्चालन गर्दै विरगञ्ज

पर्साको विरगञ्ज महानगरपालिकाले नयाँ वर्षमा वीरगञ्जमा ‘रात्री बजार’ सञ्चालन गर्ने भएको छ। महानगरले चैत ३० देखि वैशाख २ गतेसम्म ‘रात्री बजार’ सञ्चालन गर्न लागेको हो। 

उक्त समयमा भारतबाट नेपाल प्रवेश गर्ने वीरगञ्जस्थित मुख्य नाका २४ सै घण्टा खुल्ने भएको छ । सामान्यतया वीरगञ्ज नाका राति १० बजेपछि बिहान ५ बजेसम्म नेपाल र भारत दुवैतर्फबाट बन्द रहन्छ । तर भारतीय पर्यटकहरुलाई लक्षित गरि महानगरपालिकाले नयाँ वर्षमा वीरगञ्जमा सञ्चालन गर्न लागेको ‘रात्री बजार’ का लागि वीरगञ्ज नाका २४ सैं घण्टा खुल्ला रहने मेयर राजेशमान सिंहले बताए । 

जुगलमा करार सेवामा कर्मचारी माग

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दैै पालिका अन्तर्ग प्रसुतिसहितको स्वास्थ्य केन्द्र सञ्चालन गर्नको लागि अनमी पदमा करार सेवामा २ जना कर्मचारी माग गरेको हो । 

योग्यता पुगेका इच्छुक व्यक्तिले ५०० रुपैयाँ दस्तुर तिरी बैशाख ५ गतेभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

विपन्न बस्तीमा ‘मुख्यमन्त्री कार्यक्रम’

तनहुँका दुई पालिकाका विपन्न बस्तीमा ‘मुख्यमन्त्री कार्यक्रम’ सञ्चालन गरिएको छ । आँबुखैरेनी गाउँपालिका–१ का ४० घर भुजेल र ऋषिङ गाउँपालिका–४ का करिब ६० घरधुरीलाई लक्षित गरी कार्यक्रम सुरु गरिएको हो। 

आयआर्जनमा सबल गराई विपन्न परिवारको जीविकोपार्जनमा सहज बनाउने उद्देश्यले उक्त कार्यक्रम सुरु गरिएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । 

जगदुल्लामा स्वास्थ्य बीमा

डोल्पाको जगदुल्ला गाउँपालिकाले सबै घरपरिवारको स्वास्थ्य बीमा गरेको छ । गाउँपालिकाले एकै पटक पाँच सय ५९ घरपरिवारको स्वास्थ्य बीमा गरेको हो ।

 स्वास्थ्य बीमा कार्यक्रमको महत्वलाई बुझेर गाउँपालिकाका सम्पूर्ण घरधुरी समेटिने गरी स्वास्थ्य बीमा गरिएको गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायले जानकारी दिए । गाउँपालिकाले स्वास्थ्य बीमाका लागि रु १९ लाख २८ हजार आठ सय ५० रुपैया स्वास्थ्य बीमाबोर्डलाई भुक्तानी गरेको छ। 

बेदकोटमा स्वास्थ्य स्वयमसेविकालाई साइकल वितरण

कञ्चनपुरको बेदकोट नगरपालिकाले स्वास्थ्य स्वयमसेविकालाई साइकल वितरण गरेको छ । सेवाको सजिलोका लागि प्रत्येक महिला स्वयमसेविकालाई एकएक थान साइकल उपलब्ध गराइएको हो । 

नगरपालिका–७ ले १३ जना स्वास्थ्य स्वयमसेविका र दुईजना कार्यालय सहयोगीलाई साईकल वितरण गरेको वडाध्यक्ष थानेश्वरप्रसाद भट्टले बताए । स्वयमसेविकालाई स्वास्थ्यसम्बन्धी काम गर्दा सजिलो होस् भनेर साइकल वितरण गरेको उनले बताए। 

पोखरामा स्मार्ट सार्वजनिक शौचालय बनाइने

कास्कीको पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण सुरु भएको छ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले सार्वजनिक शौचालय बनाउन पोखरा महानगरसँग साझेदारी गरेको हो । 

महानगर प्रमुख धनराज आचार्यले सार्वजनिक शौचालय निर्माणको सोमबार शिलान्यास गरेका छन् । महेन्द्रपुलको उत्तरतर्फ रहेको पाँच आना क्षेत्रफलमा एनआरएनए र पोखरा महानगरपालिको संयुक्त लगानीमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृह निर्माण हुनेछ ।

किसानलाई कृषि सामग्री र तालिम

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले  किसानलाई  ५० प्रतिशत अनुदानमा कृषि सामग्रीसँगै तालिम दिएको छ । गाउँपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी कृषि सामग्री वितरण गरेको हो । 

 गाउँपालिकाले स्थानीय किसानलाई सामग्रीसँगै तालिम दिएपछि कृषि कार्य सहज हुने छ । किसानका लागि  १७ थान नौ र १० एचपी हातेट्याक्टर वितरण गरेको पालिकाका कृषि शाखा प्रमुख निमराज गिरीले जानकारी दिए।