close

सामुदायिक कुकुरहरुको बन्ध्याकरण गराउँदै बुटवल, निःशुल्क वर्षे घाँसको वीउ वितरण गर्दै धरान (भिडियाेसहित)

सामुदायिक कुकुरहरुको बन्ध्याकरण गराउँदै बुटवल, निःशुल्क वर्षे घाँसको वीउ वितरण गर्दै धरान (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

सार्वजनिक व्यक्तिको सन्तान अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गराउन निर्देशन

कपिलवस्तुको शिवराज नगरपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका सन्तानलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउन निर्देशन दिएको छ  । नगरपालिकाले आगामी शैक्षिक सत्र २०८० मा लागू हुने गरी सो निर्देशन दिएको हो । 

शिवराज नगरपालिकाको अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनको लागि बनेको ऐन २०७९ को दफा ६ को १ बमोजिम अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउने निर्देशन दिएको हो । नगरपालिकाका शिक्षा शाखा प्रमुख पूर्णबहादुर विश्वकर्माले पालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउनको  लागि  सो निर्णय गरेको जनाए । 

दलित महिलाका लागि सीपमूलक तालिम

चितवनको कालिका नगरपालिकाले दलित उत्पीडित समुदायका महिलाहरुलाई सीपमूलक तालिम तथा आयआर्जन कार्यक्रम सञ्चालनका लागि प्रस्ताव माग गरेको छ । नगरपालिकाले एक सूचना जारी चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप पालिकाभित्र बसोबास गर्ने दलित उत्पीडित महिलालाई लक्षित गरी सो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

कार्यक्रममा सहभागी हुन चाहने महिला तथा व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ।

सामुदायिक कुकुरहरुको बन्ध्याकरण गराउँदै बुटवल

रुपन्देहीको बुटवलमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण सुरु गरिएको छ ।   बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले उपमहानगरभित्र सडकका कुकुरहरुको संख्या वृद्धि घटाउन तथा रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप लगाउन थालिएको बताए।

 बुटवल उपमहानगरपालिकाको आयोजना र वातावरण तथा सामाजिक परिवर्तनका लागि युवासँगको सहकार्यमा ३ दिने अभियान सुरु भएको छ। 

कृषकको गुनासो सुन्न अन्तरक्रिया

खोटाङको केपिलासगढी गाउँपालिकाले कृषक समूहका प्रतिनिधिहरुसंग छलफल तथा अन्तक्रिया गरेको छ । गाउँपालिकाको अध्यक्ष समीर राईको अध्यक्षतामा बुधबार कृषक समूहका प्रतिनिधिसँग अन्तरक्रिया गरेको हो । 

छलफलमा अध्यक्ष राईले कृषक समूहहरुलाई कृषि उत्पादन वृद्धि साथै आधुनिक कृषि गर्नको लागि १५ दिनभित्र आफ्नो आफ्नो कार्ययोजनासहित पालिकामा उपस्थित हुन आग्रह गरे। कृषकहरुको गुनासो र समाधानका उपायहरु साथै कृषि क्षेत्रलाई प्राथमिकता दिई कृषि उत्पादनमा आत्मनिर्भर पालिका बनाउने हाम्रो अभियान अन्तर्गत सो कार्यक्रम गरिएको उनले बताए । 

निःशुल्क वर्षे घाँसको वीउ वितरण गर्दै धरान

सुनसरीको धरान उपमहानगरपालिकाले टियोसेन्टी घाँसको वीउ निःशुल्क वितरण गर्ने भएको छ । उपमहानगरपालिकाले एक सूचना जारी गर्दै चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप निःशुल्क घाँसको वीउ वितरण गर्न लागेको जनाएको हो । कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले आवश्यक कागजातसहित आवेदन दिन सक्ने उपमहानगरपालिकाले जनाएको छ। घाँसको वीउ उपमहानगरको पशुपन्छी विकास शाखाबाट चैत २६ गते बिहान साढे १० बजेदेखि वितरण गरिने छ ।  

करार सेवामा १४ जना गणक माग

प्यूठानको गौमखी गाउँपालिकाले करार सेवामा गणक भर्ना गर्न लागेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै गणक भर्ना गर्ने जनाएको हो । 

गाउँपालिकाको अनुसार किसान पहिचान गरी सरकारी तवरबाट किसानलाई उपलब्ध गराइने सेवा सुविधाको पारदशिकता तथा सुशासन अभिबृद्धि गर्न स्थानीय तहसँग साझेदारीमा किसानमा आवश्यक विवरण संकलन गर्नको लागि १४ जना गणक भर्ना लागेको हो । 

योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित चैत २७ गतेभित्र आवेदन दिन सक्ने छन्। 

आफ्नै प्रशासनिक भवनबाट सेवा दिँदै बडिगाड

बागलुङको बडिगाड गाउँपालिकाले आफ्नै प्रशासनिक भवनबाट सेवा प्रदान सुरु गरेको छ। चैत २२ गतेदेखी गाउँपालिकाले सम्पूर्ण शाखाका सेवा प्रवाहहरु आफ्नै प्रशासनिक भवनबाट दिन थालेको हो।

यस अघि भाडाको घरबाट गाउँपालिकाले आफ्नो प्रशासनिक काम सञ्चालन गरिरहेको थियो।