close

शैक्षिक सामग्री खरिद गर्न शिक्षकलाई ऋण, महानगरमा ५१ जना कर्मचारी माग

शैक्षिक सामग्री खरिद गर्न शिक्षकलाई ऋण, महानगरमा ५१ जना कर्मचारी माग

Trulli
ADVERTISEMENT

शैक्षिक सामग्री खरिद गर्न शिक्षकलाई ऋण

बागलुङको जैमिनी नगरपालिकाको शिक्षकलाई शैक्षिक सामग्री खरिद गर्न सहयोग गर्ने उद्देश्यले चक्रीय कोष स्थापना गर्ने घोषणा गरेको छ।

नगरपालिकाले नगरका सबै विद्यालयमा कोष स्थापना गरी शिक्षकलाई आवश्यक शैक्षिक सामग्री खरिद गर्न ऋण उपलब्ध गराउन लागेको हो। शिक्षकले शिक्षण क्रियाकलाप सञ्चालन गर्न चाहिने सामग्री खरिद गर्न उक्त कोषबाट न्यून ब्याजमा ऋण पाउने छन् । ऋण प्राप्त  गर्ने शिक्षकको तलवबाट मासिक निश्चित रकम काटेर नियमित ऋण असुली गर्ने योजना रहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए । 

खाँदबारीमा एक जना पशु चिकित्सक माग

संखुवासभाको खाँदबारी नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै एक पालिका एक भेटेरिनरी डाक्टर कार्यक्रमको लागि एक जना पशु चिकित्सक माग गरेको हो। 

योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित आवेदन दिन सक्ने छन्। आवेदनहरुबीच योग्यताक्रम र अन्तरबार्तामार्फत योग्य व्यक्ति छनौट गरिने नगरपालिकाले जनाएको छ । 

अनुदानमा धानको वीउ माग गर्न आँबूखैरेनीको अनुरोध

तनहुँको आँबूखैरेनी गाउँपालिकाले उन्नत जातको धानको वीउ वितरण गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप अनुदानमा वीउ वितरण गर्न लागेको जनाएको छ। 

इच्छुक कृषक, कृषि समूह, सहकारीले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने छन्। पालिकाले गाउँपालिका क्षेत्रमा उत्पादन हुने विभिन्न प्रजातीका धानको वीउ वितरण गर्न लागेको हो । 

महानगरमा ५१ जना कर्मचारी माग

काठमाडौं महानगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै कार्यालय सहयोगी पदमा ५१ जना कर्मचारी माग गरेको हो । 

१८ वर्ष पुरा भइ ३५ वर्ष पुरा नभएका  इच्छुक व्यक्तिले एकल दस्तुर तिरी बैशाख १९ र दोब्बर दस्तुरसहित २६ गतेसम्म आवेदन दिन सक्ने छन्। आवेदकहरुबीच महानगरको सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने कार्यविधिसम्बन्धि कार्यविधि २०७९ बमोजिम योग्य व्यक्ति छनौट गरिने जनाइएको छ ।  

महाकालीपारि सर्पदंशको उपचार सेवा

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित दोधारा प्राथमिक स्वास्थ्य केन्द्रले सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति पाएको छ । सो  केन्द्रलाई सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि स्वास्थ्य सेवा विभागको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमबार अनुमति दिएको हो ।

सर्पदंश उपचारका लागि अनुमति पाएसँगै स्वास्थ्य केन्द्रमा सर्पदंशका बिरामीलाई सेवा प्रदान गरिने स्वास्थ्य केन्द्रका निमित्त प्रमुख डा राजेश जोशीले बताए ।

पुराना सम्पदाको संरक्षण, पोखरीको उत्खनन

म्याग्दीको बेनी नगरपालिकाले पालिकाभित्रका पुराना सम्पदाको संरक्षणका लागि मौलिकस्वरुप नविग्रने गरी पुनःनिर्माण तथा उत्खननको काम सुरु गरेको छ । नगरपालिका – ७ भित्रका धार्मिक तथा ऐतिहासिक मठमन्दिर, चौतारी पोखरी र अन्य ऐतिहासिकस्थलको पुनःनिर्माण तथा संरक्षणको काम सुरु भएको वडाअध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए। 

मङ्गलाघाटस्थित म्याग्दी नदी माथिको तीन सय ३४ वर्ष पुरानो झोलुङ्गे पुलको पुनः मर्मत थालिएको छ। धार्मिक मान्यता र पर्यावरणीय शुद्धतासँग सम्बन्धित वरपिपल, चौतारी र पोखरी संरक्षण तथा मर्मत सम्भारलाई नगरपालिकाले अभियानको रुपमा सञ्चालन गरेको बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले बताइन्। 

५० प्रतिशत अनुदानमा पशु विमा गर्दै कोन्ज्योसोम

ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले अनुदानमा पशु बिमा कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रम सञ्चालन गर्न लागेको जनाइएको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप पालिकाले ५० प्रतिशत अनुदानमा पशु विमा कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने कृषक तथा फार्मले सूचना प्रकासित भएको ३० दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।