close

पोखरामा ४८ जना नगरप्रहरी माग, बिर्तामोडमा कित्ताकाट खुला (भिडियाेसहित)

पोखरामा ४८ जना नगरप्रहरी माग, बिर्तामोडमा कित्ताकाट खुला (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

पोखरामा ४८ जना नगरप्रहरी माग

कास्कीको पोखरा महानगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै नगर प्रहरी जवान पदमा ४८ जना कर्मचारी माग गरेको हो । 

नगरकार्यपालिकाको पदपूर्ति समितिले करार सेवामा नगर प्रहरी भर्ना गर्ने निर्णय गरेसँगै महानगरले नगरप्रहरीको माग गरेको हो। योग्यता पुगेको व्यक्तिले चैत २८ गतेभित्र आवश्यक कागजातसहित निवेदन दिन सक्नेछन्। आवेदनहरुबीच शारीरिक, लिखित तथा मौखिक परीक्षामार्फत योग्य व्यक्ति छनौट गरिने महानगरले जनाएको हो। 

बिर्तामोडमा कित्ताकाट खुला

झापाको बिर्तामोड नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । नगरपालिकाको वडा नम्बर १ देखि ५ सम्मका जग्गाको कित्ताकाट खुलेको हो । 

जग्गा वर्गीकरणका सबै प्रक्रिया पूरा गरेर पाँच वडाको कित्ताकाट खुलाउन भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरलाई गत फागुन २१ गते पत्राचार गरिएको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिए । कित्ताकाट खुलाभएसंगै उक्त वडाको जग्गाको विवरण अद्यावधिक गर्ने कार्यसमेत आइतबारदेखि सुचारु भएको उनले बताए। 

बनेपामा कौसी खेती प्रर्वद्धन कार्यक्रम

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाले कौसी खेती प्रर्वद्धन कार्यक्रम सञ्चालनमा ल्याएको छ । नगरले कौसी खेतीका कारण जैविक फोहोर व्यवस्थापमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालमा ल्याइएको हो । 

कार्यक्रमअन्तर्गत नगरले आवश्यकताअनुसार कौसी खेती तालिम सञ्चालन गर्ने जनाएको छ । नगरको कृषि र फोहर व्यवस्थापन योजनाबाट हाल पाँच वटा वडाका स्थानीयलाई तालिम दिँदै अनुदानमा कम्पोष्ट मल बनाउने विनसमेत वितरण गरेको छ । नगरले ५, ७, ८ ९, १० नं वडामा ५० प्रतिशत अनुदानमा कम्पोस्ट विन वितरण गरेको हो ।

प्रशासकीय अधिकृतलाई सात दिनभित्र हाजिर गराउन निर्देशन

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई सात दिनभित्र हाजिर गराउन स्थानीय तहलाई निर्देशन दिएको छ । 

मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीय तहले हाजिर नगराई फर्काउन थालेपछि सात दिनभित्र हाजिर गराउन मन्त्री अमनलाल मोदीले शुक्रबार मन्त्रिस्तरीय निर्णय गरेका थिए। मन्त्री मोदीको निर्णयअनुसार हाजिर नगराएका स्थानीय तहलाई मन्त्रालयले परिपत्र गरिसकेको मन्त्री मोदीका प्रेस संयोजक बुद्ध लोप्चनले जानकारी दिए । 

रैथाने बाली प्रर्वद्धन गर्दै मालिका सरकार

म्याग्दीको मालिका गाउँपालिकाले रैथाने बाली प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप रैथाने बाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ।

कार्यक्रममा सहभागी हुन चाहने कृषक, कृषि सहकारी, कृषि समूहले आवश्यक कागजातसहित चैत १८ गतेभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

सिद्ध कुमाखमा कृष्टलको गहना बनाउने तालिम

सल्यानको सिद्ध कुमाख गाउँपालिकामा कृष्टलको गहना बनाउने तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजनामा वडा नं ३ को कार्यालय डाडाँकटेरीमा  सो तालिम सुरु भएको हो । 

महिलाहरुको क्षमता विकासको लागि पालिकाले सो तालिमको आयोजना गरेको पालिकाका अध्यक्ष भरत गिरीले बताए । उनले सो तालिममा सहभागी भएका महिलाहरु आर्थिक तथा सामाजिक रुपमा समेत सक्षम हुने विश्वास व्यक्त गरे । १५ दिनसम्म सञ्चालन हुने तालिमबाट कृष्टलबाट बन्ने सामग्रीको जानकारी दिनुका साथै बनाउन पनि सिकाइने उनले बताए ।

ललितपुर मेयर कप महिला क्रिकेट: आयोजकविरुद्धको खेलमा मधेस विजयी

ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्स पराजित भएको छ । आयोजक टोलीलाई हराउँदै मधेस प्रदेश एक विकेटले विजयी भएको हो । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ललितपुर मेयर्सले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर ९६ रन बनायो । मधेस प्रदेशले ९७ रनको विजयी लक्ष्य १९ दशमलव दुई ओभरमा नौ विकेट गुमाएर पूरा गर्यो ।