close

कृषिजन्य वस्तुको पकेट क्षेत्र घोषणा, ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहको निःशुल्क औषधि (भिडियोसहित)

कृषिजन्य वस्तुको पकेट क्षेत्र घोषणा, ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहको निःशुल्क औषधि (भिडियोसहित)

Trulli
ADVERTISEMENT

कृषिजन्य वस्तुको पकेट क्षेत्र घोषणा

जाजरकोको  नलगाड नगरपालिकाले १० वटा बालीको पकेट क्षेत्र बनाएर काम थालेको छ । आयतित वस्तुलाई भन्दा आफ्नै उत्पादनमा जोड दिएर कृषिजन्य वस्तु उत्पादन गरी निर्यात गर्ने उद्देश्यले  विभिन्न बालीको पकेट क्षेत्र बनाएर काम थालिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताए। नगरबाट मह, लसुन, मकैलगायत वस्तु जिल्ला बाहिर निर्यात हुने गरेको छ। 

नगरपालिकाले मौरीपालन पकेट क्षेत्रका रूपमा वडा नं १, २ र ४ लाई लिएको छ । सुन्तला पकेट क्षेत्रका रुपमा वडा नं ३, अलैँचीका लागि वडा नं ३, लसुनका लागि ९, १० र ११ वडालाई पकेट क्षेत्रका रूपमा लिइएको छ । त्यस्तै धानका लागि वडा नं ७ र ८, मकैका लागि वडा नं ५, आलुका लागि ३ र ६ नं वडालाई पकेट क्षेत्रकारूपमा लिइएको छ । कागतीका लागि वडा नं ५, फलफूलका लागि वडा नं १३, तरकारी का लागि २, ४, ५, ७ र ८ नं वडालाई पकेट क्षेत्रका लिइएको छ ।

मोदीमा माटो शिविर सञ्चालन हुँदै

पर्वतको मोदी गाउँपालिकाले माटो शिविर सञ्चालन गर्ने भएको छ। गाउँपालिकाको सभाहलमा यही माघ १९ गते विहान ११ बजेदेखि माटो शिविर सञ्चालन गर्न लागिएको हो। 

माटोको नमुना सहित माटो परिक्षणमा उपस्थित हुन पालिकाले एक सुचना जारी गर्दै पालिकाका कृषकलाई अनुरोध गरेको छ। 

परशुराममा आँखा शिविर हुँदै

डडेलधुराको परशुराम नगरपालिकामा आँखा शिविर हुने भएको छ ।

नगरपालिकाले एक सुचना जारी गर्दै यही माघ २२ र २३ गते जोगबुडास्थित द्वारिका चोकको रेडक्रस भवनमा आँखा शिविर हुने जनाएको छ।

आँखामा समस्या भएका तथा आँखा नियमित जाँच गराउनु पर्ने सबैलाई शिविरमा आँखा जाँच गर्न पालिकाले अनुरोध गरेको छ । 

ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहको निःशुल्क औषधि

पाँचथरको याङवरक गाउँपालिका–३ ओयामले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहको औषधि निःशुल्क वितरण गर्न थालेको छ । वडा कार्यालयले ६० वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गर्न थालेको हो । 

वडाका धेरै ज्येष्ठ नागरिक उच्च रक्तचाप र मधुमेहका बिरामी रहेको पाइएपछि वडाले औषधि वितरण थालेको हो । चालु आर्थिक वर्षमा रु चार लाख बजेट व्यवस्था गरी औषधि वितरण थालिएको वडाध्यक्ष विमल राईले जानकारी दिए ।

सखुवानन्कारकट्टीमा उद्यान निर्माण गरिँदै

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारीमा  महेशबारी टुरिज्म एण्ड सिमसार उद्यान निर्माण गर्न थालिएको छ । राष्ट्रिय योजना आयोग र गाउँपालिकाको साझेदारीमा रु तीन करोड नौ लाख ६० हजारको लागतमा उक्त उद्यान निर्माण गर्न लागिएको हो ।

गाउँपालिकाका अध्यक्ष केदानाथ यादवले सिमसार क्षेत्र संरक्षण गर्ने उद्देश्यका साथ उद्यान निर्माण गर्न लागिएको बताए। गाउँपालिकाको मातहतमा रहेको करिब १४ कठ्ठा क्षेत्रफलमा उद्यानका विभिन्न संरचना निर्माण गर्न लागिएको छ ।

घरमै पुगेर पाठेघरको उपचार

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा पाठेघरसम्बन्धी समस्या भएका महिलाको घरमै पुगेर निःशुल्क उपचार गरेको छ । नगरपालिकाको एघार वटै वडामा स्वास्थ्यकर्मी परिचालन गरेर पाठेघरसम्बन्धी समस्या भएका महिलाको घरमै पुगेर निःशुल्क उपचार गरिएको हो । 

नगरपालिकाले सञ्चालन गरेको अभियानका क्रममा दुई सय २५ महिलाले निःशुल्क सेवा लिएका छन् । त्यसमध्ये ३२ महिलामा जटिल समस्या देखिएकाले शल्यक्रियामार्फत उपचार गर्नुपर्ने अवस्था देखिएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले जानकारी दिए। 

शल्यक्रिया गर्नुपर्ने अवस्थाका महिलासँग नियमित सम्पर्कमा रहेर आगामी फागुन १ गते बनेपास्थित अस्पतालमा लगेर निःशुल्क उपचारको व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।

नगरस्तरीय महिला टि–२०मा देहिमाडौँ च्याम्पियन

बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न नगरस्तरीय महिला टि–२० क्रिकेट प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिका–२ देहिमाडौँले हात पारेको छ । मङ्गलबार सम्पन्न फाइनल खेलमा वडा नं ८ त्रिपुरालाई सात विकेटले हराउँदै देहिमाडौँले उपाधिमाथि कब्जा जमाएको हो । 

उपाधिसँगै देहिमाडौँले रु २५ हजार, ट्रफी, मेडल प्राप्त गर्दा त्रिपुराले रु १५ हजार, ट्रफी, मेडलमा चित्त बुझायो। 

सहिद दिवसका अवसरमा दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रम र नगर खेलकुद विकास समितिको आयोजनामा यही माघ ९ गतेदेखि सुरू भएको  प्रतियोगितामा नगरका सात टोली सहभागी थिए ।