महानगरको विकास सहायता कार्यक्रमका लागि दुई सय चार प्रस्ताव
काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागमा विकास सहायताका कार्यक्रमका लागि दुई सय चार प्रस्ताव पेस भएका छन् । रु चार करोड ४५ लाख बजेट रहेको उक्त कार्यक्रमका लागि प्रस्ताव आह्वान गर्दै गत मङ्सिर १ गते कामपाले सार्वजनिक सूचना प्रकाशन गरेको थियो ।
उक्त सूचनाका आधारमा १० क्षेत्रगत कार्यक्रमका लागि ती प्रस्ताव पेस भएका सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोरखेलले जानकारी दिए। महानगरले सूचनामा उल्लेख गरेको पहिलो कार्यक्रम ‘नमूना छात्रा सांसद कार्यक्रम’ हो । यो कार्यक्रमका लागि रु १० लाख विनियोजन गरिएको छ ।
म्याग्देमा जग्गाको कित्ताकाट खुल्यो
तनहुँको म्याग्दे गाउँपालिकाले जग्गाको वर्गीकरण सकाएसँगै जग्गाको कित्ताकाट खुलेको छ।
गाउँपालिकाका पदाधिकारिले जिल्ला विकास समितिलाई वर्गीकरण पुस्तक तथा पत्र हस्तान्तरण गरेका छन् । जग्गाको कित्ताकाट खुला भएको पुस्तक हस्तान्तरण भएसँगै म्याग्दे गाउँपालिका तनहुँको जग्गाको कित्ताकाट खुलाउने पहिलो पालिका बनेको छ ।
मौवाफाँटमा प्रहरी चौकी स्थापना
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटमा प्रहरी चौकी स्थापना भएको छ । प्रहरी चौकी भवनको बिहीबार गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीले गरेका हुन्।
सबै स्थानीय तहको केन्द्रमा प्रहरी चौकी स्थापना गर्ने सङ्घीय सरकारको योजनाअनुसार प्रदेश सरकारको आर्थिक सहयोगमा रघुगङ्गा गाउँपालिकाले व्यवस्थापन गरेको जग्गामा एक वर्षअघि भवन निर्माण गरेको हो । गण्डकीमा प्रदेश सरकारको सहयोगमा प्रदेश प्रहरी कार्यालयले ठेक्कामार्फत २३ एकाइको भवन निर्माण गरिएको प्रहरी नायब महानिरीक्षक जोशीले बताए। उक्त चौकीमा हवल्दारको नेतृत्वमा पाँच सुरक्षाकर्मी तैनाथ छन् ।
बुटवल उपमहानगरको १२औं नगरसभा सुरु
रुपन्देहीको बुटवल उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशन शुरु भएको छ । बिहिबार दिउँसो ३ बजेदेखि उपमहानगरपालिकाको हलमा १२ औ अधिबेशन सुरु भएको हो ।
नगरसभामा नगरप्रमुख खेलराज पाण्डेयले चालु आर्थिक वर्षका लागि तय भएका योजनाहरु समयमै सम्पन्न गर्नेतर्फ ध्यान दिने बताए । उनले नगरका जनप्रतिनिधि र कर्मचारीले अधिकतम समय योजना सम्पन्न गर्न र व्यवस्थित सेवा प्रवाह गर्नतर्फ ध्यान दिएको बताएका छन्।
कौरा नृत्य संरक्षण गर्न गाउँपालिकाद्धारा वडास्तरीय प्रतियोगिता
तनहुँको ऋषिङ गाउँपालिकाले मगर समुदायमाझ लोकप्रिय रहेको कौरा नाच संरक्षणमा चासो देखाएको छ।
उक्त नाच यही गाउँपालिकाबाटै सुरु भएको ठहर गदै गाउँपालिकाले बिहीबार वडास्तरीय कौरा नाच प्रतियोगिता गरेको थियो । गाउँपालिकाको १३ औँ गाउँसभाको अवसरमा गरिएको प्रतियोगितामा आठवटै वडाका मगर समुदायका युवायुवती सहभागी थिए ।
प्रतियोगितामा वडा नम्बर १ को समूह प्रथम र वडा नम्बर ६को समूह दोस्रो भएको थियो । प्रथम र दोस्रो हुनेले क्रमशः रु १२ हजार र आठ हजार प्राप्त गरेका छन्।
झापाका विद्यालयमा आइतबारदेखि हिउँदे विदा
झापाको झापा गाउँपालिकाका सामुदायिक विद्यालय आगामी आइतबारदेखि हिउँदे विदा दिने भएको छ ।
गाउँपालिकाले एक सूचना जारी गर्दै केही दिनयता अत्याधिक चिसो बढेकोले विद्यालयको नियमित कक्षा सञ्चालन गर्न कठिनाई भएकोले पुष २४ गतेदेखि माघ ६ गतेसम्म आन्तरिक कामकाजलाई असर नपार्ने गरी बन्द गर्न अनुरोध गरेको छ।
विदा सकिएलगतै कक्षा नियमित रुपमा सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ ।
९३ वर्षपछि बल्ल नागरिकता
पाँचथरको हिलिहाङ गाउँपालिकाको चनमति माझीले ९३ वर्षको उमेरमा नगिरकता पाएकी छिन् । आवश्यक जानकारी र साथ दिने कोही नहुँदा माझी ९३ वर्षको उमेरसम्म बिनानागरिकता बस्न बाध्य भएकि थिइन्।
हिलिहाङ गाउँपालिका–२ पिनासीकी माझीलाई बिहीबार उनकै घर पुगेर प्रमुख जिल्ला अधिकारी गणेश गैरे, हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारी, हिलिहाङ–२ का वडाध्यक्ष भीमप्रसाद हेम्ब्यासहितको टोलीले नागरिकता प्रमाणपत्र उपलब्ध गराएको हो ।