close

शिवराजमा मेयर स्वरोजगार, भोटेकोसीमा घुम्ती शिविर

शिवराजमा मेयर स्वरोजगार, भोटेकोसीमा घुम्ती शिविर

Trulli
ADVERTISEMENT

जनताको गुनासो सुन्न घुम्ति शिविर
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाले वडा नम्बर ५ को कार्यालयले एकिकृत घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । स्थानीय बासिन्दाको सहजताको लागि वडा कार्यालयले घुम्ती शिविर सञ्चालन गर्न लागेको हो । 

वडा अध्यक्ष दावा त्यम्बा तामाङका अनुसार वडाबासीको विषयगत गुनासो सुनेर समाधान गर्नको लागि सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । उनका अनुसार शिविरमार्फत् वडाबासीको माग र आवश्यकता पहिचान गर्ने सहज हुने छ । 

उनले घुम्ती शिविरमा शिक्षा, स्वास्थ्य, कृषिलगायतका विषयमा नागरिकसँग छलफल गरिने बताए  । शिविर पुष १९ गते वडा कार्यालयमा हुने जनाइएको छ । 

शिविरमा स्वास्थ्य सेवा, अपाङ्गता परिचयपत्र वितरण, कृषि सेवा, माटो परिक्षण, चुन वितरण, पशु सेवा तथा अन्य विभिन्न सेवा सञ्चालन गरिने उनले बताए ।

 शिवराजमा मेयर स्वरोजगार कार्यक्रम
कपिलवस्तु  । शिवराज नगरपालिकाले ५० प्रतिशत युवालाई रोजगार दिने भएको छ । नगरपालिकाले ७ औं कार्यपालिका बैठकबाट मेयर स्वरोजगार कार्यविधि पारित गरेसँगै ५० प्रतिशत युवालाई रोजगार दिन लागेको हो ।

 नगरपालिका भित्रका युवालाई आत्मनिर्भर बनाउनका लागि सो कार्यविधि पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले जानकारी दिए ।


नगरपालिकाले मेयर स्वरोजगार कार्यक्रमको कार्यविधि प्रारित गरि मेयर स्वरोजगार कार्यक्रम लागु गरिएको शिवराज नगरपालिकाका मेयर अजय थापाले बताए।


 कृषि कार्यक्रममा सहभागी हुन पनौतीको आग्रह
काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले मकै बाली संरक्षण तथा तरकारीबाली पकेट क्षेत्र कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै सो कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो । 

सूचना अनुसार चालू आर्थिक वर्ष २०७९र०८० बाट नगरपालिकामा मकै क्लस्टर निर्माण गर्नको लागि आवश्यक व्यक्तिले आवेदन दिन सक्ने छन् । इच्छुक व्यक्ति, संस्था, सहकारी संस्था, कृषि सहकारीले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 


नगरपालिकाले मकैको लागि २० लाख र तरकारीको लागि ६ लाख रुपैयाँ बजेट विनियोजना गरिएको जनाएको छ । आवश्यक कागजातसहित आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।
 

जग्गा वर्गीकरण कहिलेसम्म
नुवाकोटमा रहेका बाह्रवटै स्थानीय तहले जग्गा वर्गीकरण गर्न सकेका छैनन् । सरकारले  तोकिएको समयसीमाभित्र पनि जग्गा वर्गीकरण गर्न सकेको छैन । 

जग्गा वर्गीकरण नहुँदा कित्ताकाट रोकिएको छ भने कुनै एक कित्ता पूरैबाहेक बाँकी काम पूर्णरूपमा बन्द छ । 


स्थानीय तहले ‘स्थानीय भू–उपयोग परिषद्’ गठन गरेर उक्त परिषद्बाट गत मङ्सिर २२ भित्र आफ्नो क्षेत्रभित्रको जग्गाको सकेसम्म तोकिएको समूहमा पर्ने विभिन्न दश समूहमा वर्गीकरण गर्न त्यो सम्भव नभएमा कृषि र गैह्रकृषि दुई समूहमा वर्गीकरण गर्न दिएको समयमा जिल्लाका स्थानीय तहले अटेर गरेको हो ।


बेखाल पोखरीको फल्चाको शिलान्यास 
भक्तपुरको भक्तपुर नगरपालिकाले वडा नम्बर १० स्थित बेखाल पोखरीको दक्षिण पश्चिमतर्फको फल्चाको शिलान्यास गरेको हो । नगरप्रमुख सुनील प्रजापतिले आइतबार बिहान एक समारोहमा सो पार्टीको शिलान्यास गरेका हुन् ।  

नगर प्रमुख प्रजापतिले पूर्खाहरुले सयौं वर्ष पहिले निर्माण गरी छाडेर गएका कला—संस्कृति र सम्पदाहरुलाई व्यवस्थित रुपमा संरक्षण र संवद्र्धन गर्ने कार्यलाई भक्तपुर नपाले प्राथमिकताका साथ अगाडि बढाउँदै आएको बताए ।
 

 बैतडीमा हर्न बजाउन निषेध
बैतडीका केही क्षेत्रमा ‘हर्न’ बजाउन निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सुरक्षा निकाय, जिल्ला ट्राफिक, यातायात व्यवसायी र सरोकारवालासहितको सर्वपक्षीय छलफलबाट जिल्लाका बजार क्षेत्रलाई पहिलोपटक हर्न निषेधित क्षेत्र घोषणा गर्ने निर्णय भएको हो ।  

बढ्दो ध्वनि प्रदूषणलाई कम गर्न पहिलो चरणमा जिल्लाको सदरमुकामस्थित गोठलापानी बजार क्षेत्रमा सवारी हर्न बजाउन निषेध गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए।


 पुन एकीकरण कार्यक्रममा सहभागी हुन केपीलासगढीको अनुरोध
खोटाङको केपिलासगढी गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई पुन एकीकरण कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पुन एकीकरण कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो । 

इच्छुक व्यक्तिले सम्बन्धित वडा कार्यालय वा रोजगार सेवा केन्द्रमा आवेदन भर्न पालिकाले जनाएको छ ।