शिक्षकसँग माग फाराम पेश गर्न अनुरोध
सिराहाको धनगढीमाई नगरपालिकाले माग फाराम पेश गर्न अनुरोध गरेको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै सामुदायिक विद्यालयका शिक्षकहरुको मङ्सिर र पुसको तलब माग फाराम पेश गर्न अनुरोध गरेको हो ।
सूचना अनुसार नगरपालिकाले श्रावणदेखि कार्तिकसम्मको तलब र भत्ता निकासा गरिसकेको छ । मंसिर र पुस महिनाको तलब भत्ता निकासी गर्नको लागि सामुदायिक विद्यालय र बालविकास केन्द्रका कर्मचारी र शिक्षकसँग माग फाराम पेश गर्न अनुरोध गरेको नगरपालिकाले जनाएको छ ।
डोल्पोबुद्धमा रोजगारीको अवसर
डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाले रोजगार सेवा केन्द्रको लागि कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै केन्द्रको लागि एक जना कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख गरेको छ ।
आवेदन आएका व्यक्तिहरुलाई खुल्ला प्रतिस्प्रर्धा गराई करार सेवामा भर्ना गरिने गाउँपालिकाले जनाएको छ ।
१३औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्दै परशुराम
डडेलधुराको परशुराम नगरपालिकाले नगरपालिकास्तरीय १३औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । नगरपालिकाको आयोजनामा आउँदो माघ १३ गतेदेखि १६ गतेसम्म परशुराम रंग मैदानमा प्रतियोगिता हुन जनाइएको छ ।
प्रतियोगितामा सहभागी हुन चाहने माध्यमिक तहका सामुदायिक तथा संस्थागत विद्यायलले आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । कार्यक्रममा सहभागी हुन विद्यार्थीहरु कक्षा १२ सम्म नियमित रुपमा अध्ययनरत १८ वर्षभन्दा मुनीका विद्यार्थी हुनु पर्ने नगरपालिकाले जनाएको छ ।
थाहा गोल्डकप प्रतियोगिता हुने
मकवानपुरको थाहा नगरपालिकाले चौथो थाहा गोल्डकप प्रतियोगिता आयोजना गरेको छ । नगरपालिकाले पुष २६ गतेदेखि गोल्डकप सुरु हुने जनाएको छ ।
कार्यक्रममा सहभागी हुन चाहने टोलीले पुष २४ गतेसम्म आवेदन पेश गर्न सकिने नगरपालिकाले जनाएको छ । थाहा नगरको खेल पर्यटन प्रवद्र्धनको निम्ति सो कार्यक्रमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
गोल्डकपका विजेतालाई दुई लाख र दोस्रो विजेतलाई एक लाख रुपैयाका साथै दुबैलाई शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरिने नगरपालिकाले जनाएको छ ।
झिमरुकमा कृषि कार्यक्रम
प्यूठानको झिमरुक गाउँपालिकाले कृषि कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रममा सहभागी हुन स्थानीयलाई अनुरोध गरेको हो ।
सूचना अनुसार प्रदेश सरकारबाट हस्तारित कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले गाउँपालिकामा सञ्चालनमा रहेको सहकारी संस्था, कृषि समूह तथा फार्मले आवेदन दिन सक्ने छन् ।
माडीमा शिक्षकको आवश्यकता
चितवनको माडी नगरपालिकाले विद्यालयको शिक्षकको लागि दरखास्त आव्हान गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै माध्यमिक तथा प्राथमिक तहको लागि शिक्षकको दरखास्त आव्हान गरेको हो ।
सूचना अनुसार वडा नम्बर ५ स्थित श्री दिवाकर स्मृति माध्यमिक विद्यालयमा रिक्त पदको शिक्षक माग गरेको हो । योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र नगर शिक्षा शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ ।
बिमा कार्यक्रममा सहभागी हुन वडा सरकारको अनुरोध
नुवाकोटको बेलकोटगढी नगरपालिकाको वडा नम्बर १३ ले स्वास्थ्य विमा कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । वडा कार्यालयले बुधबार एक सूचना जारी गर्दै विमा कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो ।
सूचना अनुसार पुष २० गतेसम्म वडाभित्रका सबै स्थानीय बासिन्दाले स्वास्थ्य विमा कार्यक्रममा सहभागी हुनु पर्ने छ । २० गतेसम्म स्वास्थ्य विमा कार्यक्रममा सहभागी भएमा फागुन महिनादेखि सेवा लिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।