काठमाडौं ।महोत्तरीको मनरा शिसवा नगरपालिकाले जनताको समस्या बुझ्न जनतासँग मेयर कार्यक्रम लागू गरेको छ । नगरप्रमुख मोहन पाण्डेले नगरभित्रका जनताको दुःख बुझ्न र जनाताले चाहे अनुसार विकासका कार्यक्रम गर्न जनतासँग मेयर कार्यक्रमको सुरुआत गरेको बताए ।
उनले पालिकाको कार्यालयमा बसेर योजना बनाउँदा जनताको दुःख पीडाको जानकारी नभएको,समस्या सामाधान गर्न नसकेको र आवश्यक विकासको कामसमेत नभइरहेको गुनासो आउन थालेपछि नगरभित्रका प्रत्येक गाउँ टोलमा गएर जनताका समस्या बुझ्दै योजना बनाउन लागेको जानकारी दिए ।
गुल्मीको चन्द्रकोट गाउँपालिकाले सडक छेउछाउका टहरा तथा संरचना भत्काउने भएको छ । गाउँपालिकाले ३५ दिने सूचना निकाल्दै सडकको छ–छ मिटर दायाँबायाँ रहेका टहरा तथा संरचना हटाउन आग्रह गरेको छ ।
गत मङ्सिर २२ गते भएको कार्यपालिकाको निर्णयबमोजिम गाउँपालिकाको केन्द्र शान्तिपुर र अर्को मजुवा बजारको सडक छेउछाउका संरचना हटाउन लागिएको गाउँपालिकाका प्रवक्ता घनश्याम खरेलले जानकारी दिए । उनका अनुसार सो कार्यक्रम कार्यान्वयनमा ल्याउनका लागि कार्यपालिका बैठकले सर्वसम्मत निर्णय गरेको हो ।
गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४५ बमोजिम सम्बन्धित ब्यक्ति, संस्था र निकायलाई सडक छेउछाउका टहरा र संरचना हटाउन अनुरोध गरेको हो ।
काठमाडौंको टोखा नगरपालिकाले ५० प्रतिशत अनुदानमा काउ म्याट वितरण गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै गाईपालक कृषकलाई काउ म्याट वितरण गर्ने जनाएको हो ।
सूचना अनुसार कार्यक्रममा नगरभित्रका गाईपालक कृषकले निवेदन दिन सक्ने छन् । सूचना प्रकासित गरेको पन्ध्र दिनभित्र आवश्यक कागजातसहित पशु सेवा शाखामा आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ ।
इच्छुक व्यक्तिले नागरिकताको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको संख्या, गाईको संख्या र दर्ता भएको संस्थामा नविकरणको प्रतिलिपिसहित आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।
नवलपरासीको देवचुली नगरपालिकाले रसायन जन्य आयुर्वेदिक अौषधी वितरण गरेको छ । नगरपालिकाले एक कार्यक्रमको आयोजना जेष्ठ नागरिक स्वास्थ्य प्रबर्धन गरी सो सामग्री वितरण गरेको हो ।
सो कार्यक्रमबाट ६८ वर्षभन्दा माथिका १४२ जनाले सेवा लिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको अनुुसार सो कार्यक्रम वडा नम्बर १४ मा सञ्चालन गरिएको र विस्तारै अन्य पालिकामा पनि सञ्चालन गरिने छ ।
भक्तपुरको भक्तपुर नगरपालिकामा मंगलबारदेखि नगरव्यापी विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । नगरपालिकाको आयोजनामा वडा नम्बर ९ स्थित दतात्रयमा सो प्रतियोगिता सुरु भएको हो ।
आजदेखि सुरु भएको सो प्रतियोगिता आगामी पुष ९ गतेसम्म सञ्चालन हुने छ । कार्यक्रममा विभिन्न खेलहरुमा प्रतियोगिता हुने र विजेता समूहलाई पुरस्कारको व्यवस्था समेत गरेको नगरपालिकाले जनाएको छ ।
म्याग्दीको धवलागिरि गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गर्न थालेको छ ।
वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिलाई झन्झट हट्नुका साथै समय र खर्चको बचत भएको छ । गाउँपालिकाको केन्द्र मुनामा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने वडा नं ६ मराङ र ५ मल्कवाङका उपभोक्ता समितिलाई लक्षित गरेर सोमबारदेखि घुम्ती शिविर सञ्चालन गरेको छ ।
मराङमा चालु आर्थिक वर्षमा बजेट विनियोजन भएका १८ वटा योजनाको वडा कार्यालयमा सम्झौता गरिएको वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए ।
मकवानपुरको भीमफेदी नगरपालिकाले स्वास्थ्य विमा कार्यक्रमको लागि सम्पर्क गर्न अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्नको लागि पालिकाभित्रका एजेन्टहरुलाई सम्पर्क गर्न अनुरोध गरेको हो ।
पालिकामा बसोबास गर्दै आएका चेपाङ समुदाय र स्वास्थ्य स्वयम् सेविकाको स्वास्थ्य विमा गर्नको लागि सम्पर्कमा आउन अनुरोध गरेको नगरपालिकाले जनाएको हो । (भिडियाेसहित)