close

वैकल्पिक सडक प्रयोग गर्न वडा सरकारको अनुरोध, दीर्घरोगीको निःशुल्क वीमा गर्दै परशुराम (भिडियाेसहित)

वैकल्पिक सडक प्रयोग गर्न वडा सरकारको अनुरोध, दीर्घरोगीको निःशुल्क वीमा गर्दै परशुराम (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

वैकल्पिक सडक प्रयोग गर्न वडा सरकारको अनुरोध

भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा सरकारले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । नगरपालिकाको वडा नम्बर ८ को वडा कार्यालयले एक सूचना जारी गर्दै वैकल्पिक सडक प्रयोग गर्न स्थानीयलाई अनुरोध गरेको हो । 

सूचना अनुसार वडा नम्बर ८ स्थित भत्केको पाटी जितपुर रातोपाटी कलमसी नगरकोट सडकखण्ड अन्तर्गत मुलसाँघु पुलदेखि कालीओपी डिलसम्मको सडक कालोपत्रे हुने भएकोले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको हो  ।  फागुन १५ गतेदेखि सो सडक कालोपत्रेको कार्य नसकेसम्म अन्य सडक प्रयोग गर्नको लागि अनुरोध गरिएको वडाध्यक्ष जनक खत्रीले बताए। 

अवैध रुपमा पन्छीका चल्ला बिक्री नगर्न अनुरोध

काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले पालिकाभित्र खुल्ला रुपमा अवैध रुपमा पन्छीका चल्ला बिक्री नगर्न अनुरोध गरेको छ। 

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बर्ड फ्लु रोगको पुष्टी भइसकेको अवस्थामा पालिकाभित्र अवैध रुपमा चल्ला बिक्री भएको पाइएको नगरपालिकाले आइतबार एक सुचना जारी गर्दै जनाएको छ। बर्ड फ्लु रोगको रोकथामका लागि अवैध रुपमा बिक्री गर्न रोक लगाइको हो। बिक्री गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने नगरपालिकाले चेतावनी दिएको छ। 

दीर्घरोगीको निःशुल्क वीमा गर्दै परशुराम सरकार

डडेल्धुराको परशुराम नगरपालिकाले निःशुल्क स्वास्थ्य वीमा कार्यक्रम सञ्चालनमा ल्याएको छ । नगरपालिकाका स्वास्थ्य शाखाका उपसंयोजक हिक्मत बहादुर धामीका अनुसार दीर्घ रोगीका विरामीलाई लक्षित गर्दै पालिकाले सो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

सो कार्यक्रमका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। बीमा टोली जनताको घरघरमा गई कागजात संकलनका साथै वीमा गर्दै आएको उनले बताए ।  

केपिलासगढीमा १२ औं गाउँसभा सम्पन

खोटाङको केपिलासगढी गाउँपालिकामा १२ औं गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाको अध्यक्ष समीर राईको अध्यक्षतामा  १२ औं गाउँसभा सम्पन्न भएको हो । 

गाउँपालिकाको अनुसार गाउँसभामा चालू आर्थिक २०७९–०८० मा सञ्चालित योजनाहरु तथा खर्चको समीक्षा गरेको जनाइएको छ । पालिकाका अध्यक्ष राईका अनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्म चालु तर्फ ४५ दशमलव ८ प्रतिशत र पुँजीगत तर्फ २२ दशमलव ७३ प्रतिशत रकम खर्च भएको छ ।

पालिकास्तरीय अस्पताल भवन अलपत्र

म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा निर्माण थालिएको पालिकास्तरीय अस्पतालको भवन अलपत्र परेको छ । पाँच शय्या क्षमताको  उक्त अस्पतालको निर्माण सकिनुपर्ने समयमा एक चौथाइ मात्र निर्माण भएको छ ।

भवन बनाउन लागि विसं २०७८ वैशाखमा बिएम–आइएस–एसी जेभी बुर्तिबाङ बागलुङले रु चार करोड ७९ लाख ४० हजार तीन सय ३४ मा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७९ असार १५ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । 

गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले निर्माण कम्पनीका प्रतिनिधिलाई रोकिएको भवन निर्माण अघि बढाउन ताकेता गरिएको बताए।

पशुपालकलाई बोका वितरण

बागलुङको ढोरपाटन नगरपालिकाले पशुपालक कृषकलाई उन्नत जातको बाख्रा तथा बोका वितरण गरेको छ । नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले अघिल्ला वर्षहरुदेखि कृषकलाई अनुदानमा बाख्रा वितरण गर्दै आएको छ । 

चालु आर्थिक वर्ष संघीय सरकारको ससर्त अनुदान बजेटबाट यहाँका २०  कृषकलाई उन्नत जातका बोक तथा बाख्रा वितरण गरेको ढोरपाटन नगरपालिकाका पशु शाखा प्रमुख तेजमाया खड्काले जानकारी दिए। नगरपालिकाले अनुदानमा बोका तथा बाख्रा वितरणका लागि सूचना आह्वान गरेको निवेदन पेस गरेका कृषकलाई छनोट गरी वितरण गरिएको उनको भनाइ छ ।

गोकर्णेश्वरमा मिट मार्ट स्थापना हुने

काठमाडौको गोकर्णेश्वर नगरपालिकाले मिट मार्ट स्थापना गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै मिट मार्ट स्थापना गर्न लागेको जनाएको छ । 

चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप पालिकामा स्वच्छ र स्वस्थकर मासु उत्पादन गरी उपभोक्ता समक्ष पुर्याउने उदेश्यले मिट मार्ट स्थापना गर्न लागेको हो । मिट मार्ट स्थापना गर्न चाहने व्यक्ति तथा व्यवसायीले सूचना प्रकासित भएको २१ दिनभित्र आवश्यक कागजातसहित पालिकामा माग आवेदन बुझाउन सक्ने नगरपालिकाले जनाएको छ ।  सोका लागि नगरपालिकाले २९ लाख ७० हजार अनुदान रकम विनियोजन गरिएको जनाइएको छ ।