close

गरिब परिवार पहिचान गरी परिचयपत्र वितरण, धनगढीमाईमा ६४ जना कर्मचारी माग

गरिब परिवार पहिचान गरी परिचयपत्र वितरण, धनगढीमाईमा ६४ जना कर्मचारी माग

Trulli
ADVERTISEMENT

गरिब परिवार पहिचान गरी परिचयपत्र वितरण

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले गरिब परिवार पहिचान गरी  गरिब परिचयपत्र वितरण सुरु गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काइ पोखरेलका अनुसार पालिकाका ८ वडामा परिचयपत्र वितरण गरिने छ । 

गाउँपालिका—४ तेल्लोकका गरिब पहिचान भएका घर परिवारलाई पहिलो चरणमा परिचयपत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ। बाँकी ७ वडाहरूमा क्रमशः परिचयपत्र वितरण गरिने छ । 

हालसम्म एक सय एक परिवार अति गरिब, एक सय ५५ परिवार मध्यम र एक सय ४४ परिवार सामान्य गरिब परिवारका रुपमा पहिचान भएका छन् ।अति गरिब परिवारले रातो, मध्यमले पहेँलो र सामान्यले निलो रङ्गको परिचयपत्र पाएका छन् ।

केपिलासगढीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

खोटाङको केपिलासगढी गाउँपालिकाले  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले आइतबार एक सुचना जारी गर्दै वडा नं ४ स्थित पृथ्वी मावीको खेल मैदानमा यही फागुन ७, ८ र ९ गते प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ।

खेलमा विद्यार्थीहरुलाई सहभागि गराउन पालिकाभित्रका सम्पुर्ण माध्यमिक विद्यालयलाई अनुरोध गरेको छ । कार्यक्रममा छात्र र छात्रा तर्फ भलिबल, दौड, हाइजम्प, लङजम्प, ट्रिपलजम्प, सटफुट, ज्याभलिङ थ्रो, कवड्डीमा विद्यार्थीहरुबिच प्रतिस्पर्धा हुने छ। 

धनगढीमाईमा ६४ जना कर्मचारी माग

सिरहाको धनगढीमाई नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै करार सेवामा ६४ जना कर्मचारी माग गरेको हो । 

नगरपालिकाको अनुसार चालू आर्थिक वर्षमा स्वीकृत कार्यक्रम अनुरुप किसान सूचीकरण तथा वर्गीकरण कार्यक्रम अन्तर्गत तथ्यांक संकलनका लागि कर्मचारी माग गरिएको हो । नगरपालिकाको अनुसार वडा नम्बर १ देखि ४ सम्म सूचीकरण र १ देखि १४ वटै वडामा बर्गीकरणका लागि ६४ जना कर्मचारी माग गरिएको हो । योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन सक्ने छन् । 

विराटनगरमा स्वास्थ्य शिविर

विराटनगर महानगरपालिकाले  आइतबारदेखि विराटनगरको दक्षिणी क्षेत्रबाट स्वास्थ्य शिविर सुरु गरेको छ । महानगरले  वडा नं १८ फडानी चोकबाट निःशुल्क एकीकृत स्वास्थ्य शिविर थालनी गरेको हो ।

स्वास्थ्य शिविरको उद्घाटन गर्दै महानगरका प्रमुख नागेश कोइरालाले महानगरले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । महानगरका अन्य वडामा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने उनले जानकारी दिए।

शिविरमा फिजिसियन, सर्जरी, स्त्री तथा प्रसूति रोग, बालरोग, मुख तथा दन्तरोग, छाला तथा यौनरोग, इसिजी सेवा, भिडियो एक्सरे, उच्च रक्तचाप, सुगर, क्षयरोगका बिरामीको खोजलगायतका सेवा प्रवाह गरिएको छ। 

ओलाङचुङ्गोलाई केन्द्रबिन्दु बनाएर भूकम्प

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङ्गोलामा केन्द्रबिन्दु बनाएर आज विहान  भूकम्प गएको छ । 
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४स्३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रबिन्दु भएर ४‍।८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो । ओलाङचुङ्गोलामा भने कुनै क्षति नभएको फक्ताङलुङ–७ का वडाध्यक्ष छेतेन लामाले जानकारी दिए। यसअघि ओलाङचुङ्गोलाई केन्द्रबिन्दु बनाएर २०७७ साल माघ २७ गते पनि ५।४ रेक्टर स्केलको भूकम्प गएको थियो  । 

पसल दर्ता तथा नविकरण गर्न निर्देशन

कपिलवस्तुको यशोधरा गाउँपालिकाले पसल नविकरण तथा दर्ता गर्न अनुरोध गरेको छ । 

गाउँपालिकाले एक सुचना जारी गर्दै पालिकाभित्र सञ्चालनमा रहेका पसल तथा व्यवसायको वार्षिक नविकरण गर्न अनुरोध गरेको हो । पालिकामा दर्ता भइ सञ्चालनमा रहेका व्यवसायलाई फागुन १५ गतेभित्र कर तिर्न अनुरोध गरिएको  जनाइएको छ । दर्ता नभई सञ्चालनमा आएका व्यवसाय फागुन मसान्तमा दर्ता गर्न पालिकाले अनुरोध गरेको छ । 

झिमरुकमा करार सेवामा कर्मचारी माग

प्युठानको झिमरुक गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै ६ जना कारर पदको लागि कर्मचारी माग गरेको हो । 

गाउँपालिकाको अनुसार वडा नम्बर १ र ३ मा किसान सूचीकरण कार्यक्रम अन्तर्गत तथ्यांक संकलनका लागि कर्मचारी माग गरिएको हो । सोका लागि इच्छुक योग्य व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।