close

मनास्लु आधार शिविरमा हिमपहिरो : १२ घाइते, एकजना सम्पर्कविहीन

मनास्लु आधार शिविरमा हिमपहिरो : १२ घाइते, एकजना सम्पर्कविहीन

Trulli
ADVERTISEMENT

काठमाडौ । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । 

पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधारशिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएको जानकारी दिए । घाइतेमध्ये तीनजनाको अवस्था गम्भिर रहेको र ६ जना सामान्य घाइते भएको उनले बताए ।

मनास्लु हिमाल आरोहण गरेर फर्कने क्रममा एक विदेशी नागरिक सम्पर्कविहीन भएको पनि उनले जानकारी दिए । 

हिमपहिरोमा परेकाको उद्धारका लागि काठमाडौँबाट तीनवटा हेलिकोप्टर  पठाइएको छ । यद्यपि, मौसम खराबीका कारण घटनास्थलमा अवतरण हुन नसकेको र हेलिकोप्टर गोरखाको सामागाउँमा अवतरण गरेको जनाइएको छ । 

मनास्लु हिमपहिरोमा परेकाको उद्धारका लागि जानुभएका मिङ्मा शेर्पाले मौसम खराबीका कारण उद्धारमा कठिनाइ भएको जानकारी दिए । गोरखाको सामागाउँमा तीन वटा हेलिकोप्टरसहित शेर्पा टोली तयारी अवस्थामा रहेको उनले बताए । 

चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो गएको बताइएको छ । मनास्लु हिमाल आरोहण गर्न गएका विदेशी र उनीहरुका सहयोगी नेपाली आधार शिविरमा छन् । सेभेन समिट ट्रेकलगायत विभिन्न कम्पनीबाट आरोही मनास्लु गएका हुन् ।

पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार शरद ऋतुको मनास्लु हिमाल आरोहणका लागि ३८ आरोही समूहका चार सय चार आरोहीले आरोहण अनुमति लिएका छन् ।

यो सिजनमा सगरमाथा, मनास्लुसहितका १५ हिमाल तथा चुलि आरोहणका लागि जम्मा ५८ आरोही समूहका पाँच सय ६ जनाले आरोहण अनुमति लिएका छन् ।