काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले कक्षा १ देखि ३ सम्म स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ ।
मेयर मीना कुमारी लामाका अनुसार नगरले यसै वर्षदेखि यही शैक्षिक सत्रदेखि कक्षा १ देखि ३ सम्म स्थानीय तह पाठ्यक्रम कार्यान्वयनका लागि ‘हाम्रो हेटौँडा’ नामक पाठ्यक्रम तयारी भइसकेको छ ।
‘हाम्रो हेटौंडानामक स्थानीय पाठ्यक्रम कार्यान्वयनका लागि पुस्तक छपाइ अन्तिम चरणमा पुगेको छ,’ उनले भनिन्, ‘स्थानीय स्तरको शैक्षिक ज्ञान, सीप, प्रविधि, पेसा, संस्कृति, प्राकृतिक पक्षहरु संरक्षण र प्रवर्द्धनको जिम्मेवारी स्थानीय सरकारमा रहने भएकाले स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको हो । आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्म स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेका छौँ ।’
१६० पूर्णाक रहेको पाठ्यक्रममा कक्षा १ देखि ३ सम्म हप्तामा ५ घण्टा अध्यापन गर्नुपर्ने व्यवस्था छ । जसमा ६० प्रतिशत सैद्धान्तिक र ४० प्रतिशत अंक प्रयोगात्मक रहने उनले जानकारी दिइन् ।
५० निजी र ७६ सामुदायिक गरी १२६ विद्यालयका शिक्षकलाई नयाँ पाठ्यक्रमबारे जानकारी गराइएको उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गंगाधर रिमालले जानकारी दिए ।