close

तुवाचुङ जायजुममा चुला पूजा तथा साकेला सिली

तुवाचुङ जायजुममा चुला पूजा तथा साकेला सिली

Trulli
ADVERTISEMENT

खोटाङ । किराँत समुदायको उद्गमस्थल खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवीस्थान र अर्खौलेको सिमानामा गर्ने तुवाचुङ जायजुममा सुप्तुलुङ (चुला) पूजा तथा बृहत् साकेला सिली प्रदर्शन गरिएको छ । 

किराँत समुदायको महान् चाड साकेला उभौलीको अवसर पारेर शनिबार तुवाचुङ जायजुममा नछुङ (धामी)मार्फत चुला पूजा गर्नुका साथै बृहत् साकेला सिली प्रदर्शन गरिएको हो ।

विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीभन्दा केहीमाथि पर्ने तुवाचुङ जायजुममा आयोजना गरिएको चुला पूजा तथा साकेला सिली प्रदर्शनीमा खोटाङ, उदयपुर, ओखलढुङ्गा, भोजपुरलगायत जिल्लाका किराँत समुदाय भेला भएर सामूहिकरूपमा चुला पूजा गर्दै साकेला नाचेका छन् । नगरप्रमुख विमला राईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा साकेला सिली प्रदर्शनी गर्न विभिन्न स्थानका १५ समूह सहभागी भएको तुवाचुङ जायजुम संरक्षण समितिका अध्यक्ष राकेश राईले जानकारी दिए । 

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बन्दै गएको तुवाचुङ जायजुममा प्राकृतिकरूपमा रहेका रैछाकुलेको ढुङ्गाको मूर्ति र तान बुन्ने ढुङ्गा देख्न सकिन्छ । किराँत ऐतिहासिकस्थल सो क्षेत्रलाई संरक्षण गर्न तुवाचुङ जायजुमको नाममा १५१ रोपनी जग्गा खरिद गरेर ढुङ्गाको पर्खालले घेराबारा हालिएको छ ।

तुवाचुङ जायजुममा आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बन्दै गएपछि विसं २०७४ मङ्सिर २ गते किराँतीको पुर्खा रैछाकुले, तायामा र खियामाको पूर्णकदको प्रतिमा समेत स्थापना गरिएको छ । किराँत राई यायोख्खा केन्द्रीय समितिको पहलमा तीन किराँती पुर्खाको प्रतिमा स्थापना गरिएपछि दर्शन गर्न र भ्रमण गर्न देश–विदेशका किराँती र गैरकिराँती पर्यटकको भीड लाग्ने गरेको छ ।

किराँत समुदायको पुर्खा तायामा, खियामा र रैछाकुलेले कृषियुग र मानव सभ्यताको सुरुआत गरेको किंवदन्ती बोकेको स्थलका रूपमा चिनिने तुवाचुङ जायजुममा हरेक वर्षको वैशाख पूर्णिमा र मङ्सिर पूर्णिमाको अवसरमा एक–एक पटक चुला पूजा गरिन्छ । ढोल, झ्याम्टाको तालमा साकेला गीत गाउँदै कोदोको चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायतका सामग्री प्रयोग गरेर तीन चुला पूजा अर्थात् प्रकृतिको पूजा गरिएको हो ।

साकेला उभौली ‘खेतीपाती सप्रियोस, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित पितृ तथा भूमिको पूजाआजा गर्दै महिना दिनसम्म मनाउने चलन छ ।