पाल्पा– तिनाउ गाउँपालिकाले आज शोक बिदा दिएको छ । मंगलबार वडा नं ६ को चिदिस हुँदै शिखरडाँडातर्फ जाँदै गरेको जिप दुर्घटनामा परी ठूलो मानवीय क्षति भएपछि आज गाउँपालिकाले शोक बिदा दिने निणर्य गरेको हो ।
बुधबार गाउँकार्यपालिकाको आकस्मिक बैठक बसेर शोक बिदा दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए । गाउँपालिका क्षेत्र भित्रका शिक्षा, स्वास्थ्य, सरकारी संघसंस्था तथा अन्य सम्पूर्ण क्षेत्रमा शोक बिदा दिइएको उनले बताए ।
यस्तै मृतकका परिवारलाई आर्थिक सहायता गर्ने निर्णय भएको उनले बताए । उनले भने, ‘पालिकाभित्रका मृतक परिवारका सदस्यलाई राहतस्वरुप ३५ हजार जनही दिने निर्णय भएको छ । ’
घटनामा परी हालसम्म १० जनाको मृत्यु भइसकेको छ भने १७ जना घाइते भएका छन् । सोमध्ये तिनाउ गाउँपालिकाका ५ जना स्थानीय बासिन्दाको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएकोमध्ये एकजनाको भरतपुर अस्तपाल र बाँकीको लुम्बिनी मेडिकलमा उपचार भइरहेको जानकारी प्राप्त भएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए ।