close

व्यासमा खरको छाना विस्थापित

व्यासमा खरको छाना विस्थापित

Trulli
ADVERTISEMENT

तनहुँ- व्यास नगरपालिका–१३ की फुलमाया विकले वर्षौंदेखि खरको छानामा जीवन बिताउँदै आएकी छिन् ।  घर नजिक जङ्गल भएका कारण खरको छानामा आगलागी हुने डरले उनलाई सधैँ सताइरहन्थ्यो । जिन्दगी खरको छानामै बित्छ झैँ लाग्थ्यो, तर त्यो सपना व्यास नगरपालिकाले पूरा गरिदिएको विक बताउँछन्। 

    खरको छाना विस्थापित गर्ने कार्यक्रममार्फत नगरपालिकाले खरका छाना हटाएर जस्तापाता लगाइदिएपछि अहिले विक जस्तै धेरैजना खुसी छन्। नगरपालिकाले प्रतिघर रु ७५ हजारका दरले खरको छाना विस्थापित गरी जस्तापाता लगाइदिएको हो । यसबाट अब आगलागी र पानी चुहिने समस्याको अन्त्य हुनाका साथै ढुक्कले घरमा बस्न सकिने विक बताउँछन्। 

    व्यास नगरपालिका कार्यालयबाट खरको छाना विस्थापित गरी विपन्न परिवारका घरमा जस्तापाता लगाउने कार्यक्रम प्रभावकारी बनेको छ । लामो समयदेखि खरको छानामुनि बसेका जस्तापाताले छाउन नसकेका परिवारलाई नगरपालिकाले जस्तापाताले घर छाउन सहयोग गरेको नगरपालिकाको घरनक्सा शाखाका प्रमुख अमृत केसीले जानकारी  दिए ।  

    नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा ६८ अतिविपन्न परिवारको घरको छानो  जस्तापाताले छाएको छ । रु ५१ लाखको लागतमा जस्तापाता लगाइएको नगरपालिकाले जनाएको छ । तनहँु क्षेत्र नं १ अन्तर्गत नगरपालिकाले वडा नं ५ र ६ बाहेक अन्य वडामा खरको छाना विस्थापित गरी घरमा जस्तापाता लगाएको छ । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत तनहुँ क्षेत्र नं १ मा ६८ परिवारलाई पहिलो किस्तावापत् रु ४५ हजार प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए।