close

कृषि मन्त्रीसँग लम्पी स्किन पीडित किसानलाई राहत माग

कृषि मन्त्रीसँग लम्पी स्किन पीडित किसानलाई राहत माग

Trulli
ADVERTISEMENT

भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ र चाँगुनारायण नगर प्रमुख जीवन खत्रीले बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रीसँग लम्पी स्किन पीडित किसानलाई राहत दिनुपर्ने माग गरेका छन् । 

बागमती प्रदेशका कृषि तथा पशुपन्छी मन्त्री डा. राजेन्द्रमान श्रेष्ठलाई लम्पी स्किनबाट चाँगुनारायण क्षेत्रका ८० प्रतिशत गाई सङ्क्रमित भएको समग्र भक्तपुरमा ७५ प्रतिशत भन्दा बढी गाई सङ्क्रमित भएको बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले जानकारी दिएका थिए । साना किसानको रोजी रोटीको रूपमा रहेको गाई पालन पेसा नै धरापमा परेको भन्दै उनीहरूलाई राहत प्याकेज ल्याउनु पर्ने उनले माग गरेका हुन् । 

एउटा गाई खरिद गर्न एक लाख भन्दा बढी पर्छ साना किसानले दुई चार पालेका गाई बाछा भटाभट लम्पी स्किन सङ्क्रमणबाट मर्न थालेपछि साना किसानको उठीबास नै लागेको उनले मन्त्रीलाई सुनाए । किसानलाई प्याकेजको रूपमा राहत दिन मन्त्रालय लागी पर्नु पर्ने उनको माग छ ।

भक्तपुरमा चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकामा धेरै गाई पालन गर्ने किसान रहेका थोरै मात्रामा भक्तपुर नगरपालिका र  मध्यपुर थिमि नगरपालिकामा गाईपालक किसान लम्पी स्किनबाट प्रभावित भएको उनले बताए । 


भूगोलको हिसाबले भक्तपुर जिल्लाको ५७ प्रतिशत हिस्सा ओगटेको चाँगुनारायण नगरपालिकाका ८० प्रतिशत गाईमा लम्पी स्किन सङ्क्रमण फैलिएको चाँगुनारायण नगर प्रमुख जीवन खत्रीले मन्त्रीलाई जानकारी दिए ।

भक्तपुरका चार नगरपालिकामा करिब २० हजार भन्दा बढी किसानले गाई पालन गर्दै आएका छन् ।