close

सडकपेटीमा फोहर फाल्नेसँग जरिवाना उठाउँदै वीरगञ्ज

करिब १० लाख जरिवाना संकलन

सडकपेटीमा फोहर फाल्नेसँग जरिवाना उठाउँदै वीरगञ्ज

करिब १० लाख जरिवाना संकलन

Trulli
ADVERTISEMENT

पर्सा । वीरगन्ज महानगरपालिकाले सडकपेटीमा जथाभावी फोहर फाल्ने व्यक्ति तथा संस्थालाई जरिवाना गर्न थालेको छ । महानगरपालिका क्षेत्रको सडकपेटीमा अटेर गरी फोहर फाल्ने संस्था तथा व्यक्तिलाई कारबाही स्वरुप जरिवाना गर्न थालेको हो । 

महानगरपालिकाको अनुसार पालिका क्षेत्रका फोहर व्यवस्थापनको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएपनि प्रभावकारी नभएपछि जथाभावी फोहर फाल्नेलाई कारबाही गर्न थालेको हो । महानगरपालिकाका नगरप्रमुखका स्वकीय सचिव सत्यराज घिमिरेका अनुसार पालिकाले पटकपटक विभिन्न अभियान सञ्चालन गरे पर्ने पनि कुनै सुनुवाई नभएपछि जरिवाना गर्न थालेको हो । 

उनले वीरगञ्जलाई सफा राख्नको लागि विगतको पूर्व जनप्रतिनिधिले पनि विभिन्न कार्यक्रम सञ्चालन गरेको बताए । 'हामी आएको करिब १ वर्ष हुन लाग्यो । सफा र फोहर व्यवस्थापनको लागि जनचेतनामूलका कार्यक्रम सञ्चालन गर्दै आएका छौँ,' उनले भने, 'तर स्थानीय बासिन्दाले अटेर गर्दै जथाभावी फोहर फाल्न थाले । फोहर फाल्न छाडेनन् ।'

उनले पालिकाभित्रका शिक्षित स्थानीय बासिन्दा, अस्पताल, उद्योग तथा संघसंस्थाले समेत जथाभावी फोहर फालेको बताए । 'अस्पताल तथा शिक्षित नागरिकलाई हामीले सम्झाउन आवश्यक छैन । आफैँले बुझेर फोहरको  उचित व्यवस्थापन गर्नुपर्ने हो,' उनले भने, 'संकलित फोहरलाई महानगरको गाडीमा राखे पनि सफा हुने थियो । 

तर जथाभावी फोहर फालेपछि महानगरपालिकाले जरिवाना गर्न थालेको उनले बताए । उनले पैसा तिराउन थालेपछि फोहरको व्यवस्थापन हुन थालेको बताए । 

जथाभावी फोहर फाल्नेलाई कारबाही गर्नको लागि महानगरपालिकाले सफा नेपाल एप सञ्चालनमा ल्याएको उनले बताए । सो एपमा सडकमा फोहर नउठेमा, फोहर फाल्ने व्यक्तिको बारेमा जानकारी दिने उनले बताए । 

साथै महानगरको प्रहरी तथा कर्मचारीलाई निगरानी गर्न खटाएको उनले पालिकाखबरलाई बताए । 'हामीले सुरुमा फोहर फाल्नेलाई ५०० देखि ५००० रुपैयाँ सम्म जरिवाना गरेका छौ । पुन फोहर फाल्नेलाई ११००० देखि ५१००० रुपैयाँसम्म जरिवाना गराएका छौँ,' उनले थपे, 'जरिवाना गराएपछि फोहर फाल्नेमा कमी आएको छ । साथै सो जरिवाना गरेर हालसम्म करिब १० लाख रुपैयाँ रकम संकलन  भएको उनले बताए ।'


महानगरपालिकाले हाल कुहिने फोहर र नकुहिने फोहरलाई मिश्रित रुपमा उठाएको उनले बताए । 'हाम्रो पालिका क्षेत्रमा ल्याण्डफिल्ड छ । त्यसैले हामीले मिश्रित रुपमा फोहर संकलन गर्दै आएका छौँ,' उनले भने, 'आगामी वर्षमा कुहिने र नकुहिने छुट्टाएर उठाउने योजना बनाएका छौँ ।' 

त्यसको लागि आवश्यक पहल भइरहेको उनले बताए । सुरुमा अस्पताल तथा उद्योगबाट फोहर वर्गीरकण गरेर उठाउने उनले सुनाए । पछि वडागत रुपमा फोहर उठाउने योजना महानगरपालिकाको छ ।