close

परम्परागत गुथि, खलः, पुचलाई महानगरको आर्थिक अनुदान

परम्परागत गुथि, खलः, पुचलाई महानगरको आर्थिक अनुदान

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौँ महानगरपालिकाले परम्परागत गुथि, खलः, पुचलाई आर्थिक अनुदान दिने भएकाे छ । गुँला बाजा र परम्परागत ज्यापू गुथि, खलः पुचलाई परम्परागत बाजा संरक्षण तथा बाद्य कला पुस्तान्तरण कार्यका लागि महानगरपालिकाले अनुदान रकम वितरण गरेकाे हाे ।

राष्ट्रिय सभा गृहमा साेमबार एक समाराेहकाे आयाेजना गरी अनुदान रकम वितरण गरेकाे हाे । रकम वितरण गर्दै महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले नदी सभ्यता र काठमाडौँबासीका परम्परागत चालचलनका बिचमा स्वभावले नै अभिन्न सम्बन्ध रहेको बताएका छन् ।

‘नदी सभ्यतालाई छुट्याएर काठमाडौँबासीका सांस्कृतिक क्रियाकलापको निरन्तरता अधुरो हुन्छ । यसकारण नदी सभ्यताजस्ता  प्राकृतिक सम्पदा र सांस्कृतिक, सामाजिक संस्कृतिलाई सँगै संरक्षण गरौँ । यसमा महानगर र तपाईँहरुका बिचमा सहकार्य हुने अपेक्षा गरेको छु’ प्रमुख शाहले भने, ‘परम्परागत बाजाको अभिलेख बनाउने, बाजा बजाउन इच्छुकहरुका लागि ट्युटोरियल बनाउने, बाजा बजाउनेलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई महानगरले प्राथमिकतामा राखेको छ ।’

कार्यक्रममा प्रमुख शाह र उपप्रमुख सुनिता डंगोलले, ज्यापू महागुथि अन्तर्गतका ६३ वटा परम्परागत टोल  र गुँला बाजा संरक्षण तथा व्यवस्थापन संघअन्तर्गतका २३ वटा समूहलाई अनुदान रकमको चेक हस्तान्तरण गरेका छन् । 
 
कार्यक्रममा उपप्रमुख सुनिता डंगोलले, सांस्कृतिक सम्पदाको संरक्षण राजनीतिक विषयभन्दा माथि रहेको बताए । ‘सामाजिक व्यवस्थापन र पहिचानका लागि संस्कृति क्रियाकलापको महत्वलाई काठमाडौँ महानगरपालिकाले नीति र  कार्यक्रममा समेट्ने छ,' उनले भनिन् ।उनले परम्परागत र संस्कारगत चलन, यस्ता चलनसँग जोडिएका ठाउँ, आँग छेँ, त्वाः छेँ, द्योः छेँः जस्ता स्थानको अध्ययन गर्ने र प्रवर्धनका लागि शैक्षिक क्षेत्रसँग जोड्ने बताइन् । 

अहिलेसम्म यसप्रकारका क्रियाकलापहरु समुदाय स्तरबाट सञ्चालन, व्यवस्थापन र प्रवर्धन भइरहेकोले, उहाँहरुको योगदानलाई सम्मान गर्दै परम्परागत क्रियाकलापको निरन्तरताका लागि अनुदान रकम उपलब्ध गराइएको उपप्रमुख डंगोलको भनाइ छ । 

काठमाडौँका संस्कार र संस्कृति बचाए मात्र महानगर सांस्कृतिक सहर हुनेमा आफू सचेत रहेको बताउँदै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले, बाद्यबादन, पर्व, संस्कार र संस्कृति बचाउने नीति र कार्यक्रमलाई महानगरले कहिल्यै नछोड्ने बताइन् । त्यस्तै वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले, समुदायका सांस्कृतिक क्रियाकलापसँग महानगर केन्द्रीय तहबाट र स्थानीय गतिविधिका लागि वडागत रुपमा साथ रहेको उल्लेख गरे ।