रसुवा। नौकुण्ड गाउँपालिकामा विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनको लागि योजना निर्माण कार्यशाला सम्पन्न भएको छ ।
कार्यशालामा नौकुण्ड गाउँ पालिकाको विगतको असल अभ्यास, अन्तर तथा चुनौती, गर्न चाहेको र नसकेको कार्यहरुको समीक्षा गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको योजना निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।
सोमबार गोसाइँकुण्ड होटल, कालिकास्थानमा उक्त कार्यशाला सम्पन्न भएको हो। युरोपियन युनियनको आर्थिक सहयोगमा सामुदायिक आत्मनिर्भर सेवा केन्द्र, पिपुल ईन निड, सेभ र चिल्ड्रेन र स्कट विलसन नेपालको साझेदारीमा सञ्चालित प्रतिबद्ध परियोजना र गाउँ पालिकाको समन्वयमा कार्यशाला सम्पन्न भएको हाे। कार्यक्रममा गाउँपालिका र परियोजनाको सहकार्यमा सञ्चालन गरिने क्रियाकलाप र भूमिका समेत बाँडफाँड गरिएको जनाइएकाे छ ।
कार्यशालामा नौकुण्ड गाउँ पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विपद् सम्पर्क व्यक्ति, कम्प्युटर अपरेटर, कृषि शाखा प्रमुख, सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख र प्रतिबद्ध परियोजनाका साझेदार संस्थाहरुका प्रतिनिधिहरु गरि १९ जनाको सहभागीता रहेको थियो । पालिकाका जनप्रतिनिधि र कर्मचारीले नौकुण्डलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको क्षेत्रमा नमुना र अरुले समेत सिक्न सक्ने अवस्थामा पुर्याउन तथा विपद् बाट हुनसक्ने मानविय, आर्थिक र भौतिक क्षति न्यूनीकरण गर्नका लागि आफूहरू प्रतिबद्ध रहेको बताएका छन्। यस कार्यमा परियोजनाको पनि निरन्तर सहयोगको लागि अनुरोध तथा अपेक्षा उनीहरुले राखेका थिए।