मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले रैथाने बालीको परिकारबाट सामुदायिक विद्यालयमा दिवा खाजा खुवाउने भएको छ । गाउँपालिकाको कार्यपालिकाले बैठकले स्थानीय रैथाने बालीको परिकारको खाजा बाँड्ने निर्णय गरेको हो ।
गाउँपालिकाका उपाध्यक्ष मान कुमारी पाख्रिन नेपालीका अनुसार सामुदायिक विद्यालयको दिवा खाजामा मकै, कोदो र फापरको परिकार पकाएर खुवाउने निर्णय गरिएको हो । सो खाजा वितरणका लागि सामुदायिक विद्यालका कर्मचारीलाई खाजा बनाउने रेसिपीबारे तालिम सञ्चालन गरिसकेको उनले बताइन् ।
उनले प्रत्येक हप्ताको बिहिबार सबै सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई रैथाने बालीका सेल रोटी, फूलौरा, हलुवा, निम्कीलगायतको परिकार बनाइने बताइन् । अरु दिनमा विद्यालयको रुटिन अनुसारको खाजा खुवाउने उपाध्यक्ष नेपालीले पालिकाखबरलाई बताइन् ।
स्थानीय बालीको संरक्षण गर्नुका साथै बालबालिकामा पौष्टिक आहारको कमी हुन नदिनको लागि गाउँपालिकाले सो निर्णय गरेको उनको दावी छ ।
हाल गाउँपालिकामा ३९ वटा सामुदायिक र एक निजी गरी ४० वटा विद्यालय सञ्चालनमा छन् । गाउँपालिकाले कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरुलाई पनि दिवा खाजाको व्यवस्था गरेको उनको दावी छ ।