close

पालिकाका सीमा विवाद समाधान गर्न समिति गठन

पालिकाका सीमा विवाद समाधान गर्न समिति गठन

Trulli
ADVERTISEMENT

रोल्पा। रोल्पाका दुई स्थानीय तहबीच देखिँदै आएको सीमा विवाद समाधानको प्रयास थालिएको छ । रोल्पा नगरपालिका र माडी गाउँपालिकाबीच खुम्वास क्षेत्रको सीमा विवाद रहँदै आएको छ । 

यसका लागि लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुनमगरको नेतृत्वमा रोल्पा नगर प्रमुख सुरेन्द्र थापा घर्ती र माडीका अध्यक्ष अमरसिंह घर्तीमगरसहितको टोली विवादित क्षेत्रमा पुगेको थियो । सीमा क्षेत्रमा पुगेको सर्वपक्षीय टोलीले अविलम्ब सीमा विवाद हल गर्नुपर्ने निश्कर्ष निकालेको थियो ।

रोल्पा –८ जङ्कोट र माडी–५ भावाङले दाबी गर्दै आएको सो क्षेत्रको विवाद समाधान गर्न जिल्ला समन्वय समितिका उपप्रमुख कर्मलाल परियारको संयोजकत्वमा सात सदस्यीय समितिसमेत गठन गरिएको छ । समितिमा रोल्पा नगर उपप्रमुख गीता आचार्य, माडीका उपाध्यक्ष जयपुरी घर्तीमगरसहित दुवै वडाका वडाध्यक्ष र सरोकारवालाहरू सदस्य रहेका छन् ।

समितिले विवादित क्षेत्रको अध्ययन गरी छिटोभन्दा छिटो विवाद समाधान गर्ने रोल्पा नगरपालिकाका उपप्रमुख आचार्यले जानकारी दिइन्। विवाद समाधान नहुँदा ती क्षेत्रहरू विकासमा पनि पछि पर्ने भएकाले छिटो विवाद समाधान गर्छौँ सीमा विवाद समाधान समितिका सदस्यसमेत रहनुभएकी उपप्रमुख आचार्यले बताइन्।
धार्मिक क्षेत्र जलजलालाई पनि जिल्लाका तीन स्थानीय तह रोल्पा नगरपालिका, सुनछहरी  र थवाङ गाउँपालिकाले आफ्नो दाबी गर्दै आउँदा समय–समयमा विवाद देखिने गरेको छ ।