close

आँबुखैरेनीमा आँखा उपचार केन्द्र

आँबुखैरेनीमा आँखा उपचार केन्द्र

Trulli
ADVERTISEMENT

तनहुँ । आँबुखैरेनी गाउँपालिकाले आँखाको सम्पूर्ण उपचार गर्ने भएको छ । पालिकावासीलाई सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले आँखासम्बन्धी सम्पूर्ण उपचार गर्न लागिएको हो ।

आँबुखैरेनी लायन्स क्लबको सहकार्यमा उक्त नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल र गाउँपालिकाबीच संयुक्तरुपमा आँबुखैरेनी अस्पतालमै आँखा उपचार केन्द्र सञ्चालन गर्ने सहमति गरिएको थियो । 

पालिकाका अध्यक्ष शुक्र चुमानले उक्त सेवाका लागि उक्त सङ्घ र भरतपुर आँखा अस्पतालसँग द्विपक्षीय सम्झौता गरिएको जानकारी दिए । 

'आँखाको उपचारका लागि आँबुखैरेनीका वासिन्दाका मात्र नभई छिमेकी गोरखा, बन्दीपुरका वासिन्दा पनि भरतपुरसम्म जानुपर्ने बाध्यता रहेकामा आँबुखैरेनीमै उक्त केन्द्र स्थापनापछि सबैलाई सहज हुन्छ', उनले भने ।    उक्त अस्पतालमा गण्डकी प्रदेशको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत चिकित्सकको दरबन्दी मिलाइएको छ ।  

प्रदेश सरकारले अस्पतालका लागि मेडिकल अधिकृत डा हरि सेढाईलाई नियुक्त दिएर पठाएको छ । पालिकाका अध्यक्ष चुमानले लामो समयदेखिको दरबन्दीको मागलाई प्रदेश सरकारले सम्बोधन गरिदिएको बताए । 'अस्पतालमा सरकारी दरबन्दीको चिकित्सकको माग गरेका थियौँ, हाम्रो मागलाई प्रदेश सरकारले सुनेको छ', उनले भने। 

गाउँपालिकाले यसअघि निजी स्रोतमा एक मेडिकल अधिकृत र एक कन्सलट्यान्ट चिकित्सक नियुक्त गरेको थियो । गाउँपालिकाले वडानं ३ मा सञ्चालन भइरहेको स्वास्थ्यचौकीको  सेवा विस्तार गरी गत मङ्सिर १ गतेदेखि अस्पतालमा रुपान्तरण गरेको थियो । उक्त अस्पतालमा इमर्जेन्सी, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा प्रदान भइरहेको छ ।

गाउँपालिकावासीलाई सहज र सरलरुपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको अध्यक्ष चुमानले बताए । गाउँपालिकामा अस्पताल नहुँदा यहाँका सर्वसाधारण चितवन, दमौली, पोखरालगायत ठाउँमा उपचार गर्न जार्नुपर्ने बाध्यता थियो। गाउँपालिकाले अस्पतालबाटै मिर्गौलाका बिरामीलाई डायलासिस सेवा दिने तयारी गरेको छ । हाल दमौली अस्पतालबाट मात्र डायलासिस सेवा उपलब्ध हुँदै आएको छ ।