close

किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइनभ्याइ

किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइनभ्याइ

Trulli
ADVERTISEMENT

नवलपरासी । माघेसङ्क्रान्ति नजिकिँदै गर्दा कृषकलाई तरुल खन्न र बिक्री गर्न भ्याइनभ्याइ छ ।  नवलपुरको पहाडी क्षेत्रमा उत्पादन भएको तरुल खनेर बजारमा बिक्रीका लागि उनीहरु व्यस्त भएका हुन् ।

माघेसङ्क्रान्तिमा तरुलको माघ धेरै हुने हुँदा यतिबेला किसानले आफ्नो बारीमा लगाएको तरुल खनेर बजारसम्म लैजाने काम गरिरहेका छन् । माघेसङ्क्रान्तिमा तरुलको माग पनि हुने र सहजरूपमा बिक्री हुने भएपछि आफूले लगाएको तरुल खनेर बिक्रीका लागि बजार लगेको हुप्सेकोट गाउँपालिका–५ का मकरसिंह सारुमगरले बताए ।

'अहिले तरुलको माग धेरै हुन्छ, बिक्री गर्न पनि समस्या हुँदैन, यसैले अहिले लगाएको सबै तरुल खनेर बजार पु¥याइयो', उनले भने। आफूले यस वर्ष करिब दुई क्विन्टल तरुल बेचेको उनले बताए ।
 
धौवादीका शेरबहादुर झेडीमगरले पनि आफूले लगाएको तरुल खनेर बजारसम्म पु¥याइ सकेकाे छैन । माघेसङ्क्रान्तिका दिनमा यसको महत्व हुँदा अहिले समयमै बजार पु¥याउन आफूहरू लागेको उनले बताए ।

'आजभोलिमा बेच्यो भने बेच्यो, पछि कसैले त्यति खोज्दा पनि खोज्दैन, भाउ पनि हुन्न त्यसैले अहिले लगाएको तरुल खनेर बेच्न चटारो  छ', उनले भने । एक दिनका लागि धेरै उपभोग हुने र अन्य समय खासै महत्व नहुने हुँदा धेरै लगाउनसमेत जोखिम रहेको उनले बताए। तर अहिले लगाएको जति बजारीकरणमा भने  समस्या नभएको मगरको भनाइ छ ।

पहाडी क्षेत्रमा धेरैजसो किसानले तरुल लगाउने गरेको उनको भनाइ छ । किसानले अदुवा खेतीसँगै बीचमा तरुल लगाउने गरेका छन् । सबैजसो किसानले पञ्जे (हात्तीपाइले) तरुल लगाउने गरेको उनको भनाइ छ । यो तरुल स्वादिलो हुने हुँदा माग पनि धेरै हुने कारणले किसानले पञ्जे तरुल लगाउने गरेको उनको भनाइ छ ।

तरुल लगाउने किसानलाई तरुल बिक्रीबाट घर खर्च चलाउन र माघेसङ्क्रान्ति मनाउन सहयोग पुग्ने गरेको उहाँको भनाइ छ । 'तरुल बिक्रीबाट सामान्य घर खर्च पनि चल्छ, सङ्क्रान्ति मनाउन खर्च पनि पुग्छ', उनले बताए ।

केही वर्षयताबाट तरुल उत्पादनमा भने कमी हुँदै गएको किसान तिलक रानाले बताए । कीरा लाग्ने समस्याका कारण पछल्ला केही वर्षयता उत्पादनमा भने कमी हुँदै गएको उनले बताए । अदुवा खेतीमा पञ्जे तरुल  लगाउँदा राम्रो हुने र बाहिर लगाउँदा राम्रो नहुने हुँदा अदुवा लगाउने सबैजसो किसानले तरुल लगाउने गरेको रानाले बताए। तर पछिल्ला वर्षमा तरुलमा कीराको समस्या देखिएपछि किसानले थोरै–थोरै क्षेत्रफलमा लगाउने गरेको उनकाे भनाइ छ । यसले उत्पादनमा समेत कमी हुँदै गएको रानाले बताए ।

नवलपुरको पहाडी क्षेत्रबाट अहिले दैनिकजसो करिब १० क्विन्टल तरुल कावासोतीमा मात्रै आउने गरेको कावासोतीमा तरुल थोक बिक्रेताका रूपमा काम गर्दै आएका व्यवसायी लालबहादुर सारुले बताए । कावासोतीसहित दलदले क्षेत्रमा समेत सोही मात्रामा तरुल पहाडी क्षेत्रबाट किसानले ल्याउने गरेको उनले बताए । नवलपुरमा उत्पादन भएको तरुल स्थानीय बजारसँगै पोखरा र काठमाडौँमा खपत हुने गरेको उनको भनाइ छ । आफूले अहिले पहाडी क्षेत्रमा उत्पादन भएको तरुल दैनिकरूपमा पोखरा र काठमाडाैँमा पठाउने गरेको सारुले बताए।

दैनिकजसो किसानले ल्याएको तरुल बिक्रीमा समस्या नभएको र सबै खपत हुँदै आएको उनले बताए । सारुका अनुसार किसानले अहिले प्रतिकेजी रु ४५ सम्म बुझ्ने गरेका छन् । आफूहरूले बाहिरी जिल्ला पठाउँदा भने ढुवानीसहित सबै लागत जोडेर मूल्य प्रतिकेजी रु ७० देखि रु ८० सम्म पर्ने गरेको सारुले बताए ।  नेपाली समुदायमा माघेसङ्क्रान्तिमा तरुल, सखरखण्डसँगै चाकु, सेलरोटीलगायतका परिकार खाने प्रचलन रहेको छ ।