close

खानीखोलामा बालविवाह रोक्न सडक नाटक अभियान

खानीखोलामा बालविवाह रोक्न सडक नाटक अभियान

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक। बालविवाह न्यूनीकरण गर्दै रोक्ने उद्देश्यले काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले सडक नाटक अभियान थालेको छ । आइतबार स्थानीय धार्ने ज्योति माध्यमिक विद्यालय र फलामेटारस्थित बाल विकास माविमा बालविवाहविरुद्ध चेतनामूलक सडक नाटक प्रदर्शन गरेको थियो।

त्यसैगरी सोमबार देरालीस्थित शारदा मावि र जनहित महाँकाल माविमा आदि इत्यादी नामक संस्थाले बालविवाहविरुद्ध सडक नाटक प्रदर्शन गर्यो । बालविवाहलाई न्यूनीकरण गर्न हाल गाउँपालिकाले तालिका बनाएर स्थानीय माध्यमिक विद्यालयमा एकहप्ते सडक नाटक अभियान सञ्चालन गरेको हो ।

‘बालविवाह एउटा ठूलो समस्या बनिरहेको अवस्थामा सडक नाटकमार्फत न्यूनीकरण गर्ने अभियान थालेका हौँ’, गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले भने । उनका अनुसार अभियानलाई आवश्यकतानुसार निरन्तरता दिने योजना बनाइएको छ ।

उक्त गाउँपालिकामा बालविवाहको यकिन तथ्याङ्क नभए पनि ठूलो समस्याका रूपमा रहेकाले योजनाबद्धरूपमा यसको न्यूनीकरण गर्दै बालविवाह रोक्नेसम्मको उद्देश्य राखिएको थिङले बताए। उनले भने, ‘नाटकमा सानै उमेरमा विवाह गर्दा घर–व्यवहार र शारीरिकरूपमा पर्ने समस्याबारे अभियान गरिएको छ ।’ उक्त गाउँपालिकामा विशेषगरी अधिकांश तामाङ समुदायको बसोबास रहेको छ ।

केही महिनाअघि काभ्रेपलाञ्चोकको प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले जिल्लाको दक्षिणी भेगस्थित डाँडापारि क्षेत्रमा पर्ने खानीखोला र महाभारत गाउँपालिकाको भ्रमण गर्ने क्रममा बालविवाहका घटना भइरहेको पाइएको बताएका थिए। ‘हामीले त्यस क्षेत्रको भ्रमणका क्रममा विद्यालयमा कक्षा ७ सम्म विद्यार्थीको सङ्ख्या राम्रो नै हुने तर कक्षा ८ मा पुगेपछि बर्सेनि विद्यार्थीको सङ्ख्या न्यून हुने कारण खोज्दा बालविवाह रहेको पाएका थियौँ, अहिले न्यूनीकरणका लागि अभियान चलाइएकामा खुसी लागेको छ’, जोशीले सुनाए।

जोशी जिल्लाका केही स्थानमा बालविवाह भइरहेको अनौपचारिक जानकारी प्राप्त भए पनि त्यसविरुद्ध कुनै उजुरी नपरेको बताए। उनले तत् क्षेत्रमा बालविवाह रोक्न सबै सरोकारवाला निकायबीच सहकार्य गर्न आग्रह गरेको बताए।