बारा। सटर बहाल रकम एकमुष्ठ बुझाउने जीतपुरका एक फलफूल ब्यवसायीलाई जीतपुरसिमरा उपमहानगरपालिकाले सम्मान गरेको छ । तीन आर्थिक वर्षदेखि बक्यौता रहेको सटर बहाल रकम एकमुष्ठ बुझाउने जीतपुरका फलफूल ब्यवसायी वीरेन्द्र सहनी गोढीलाई उपमहानगरपालिकाले सम्मान गरेको हो ।
सहनीले आर्थिक वर्ष २०७६/०७७ देखिको बक्यौता र आर्थिक वर्ष २०७९/०८० चैत्र मसान्तसम्मको अग्रिम सटर बहाल रकम बुझाउने पहिलो ब्यवसायी भएकोले उपमहानगरपालिकाले उनलाई सम्मान गरेको हो ।
सटर बहाल रकमलाई लिएर जीतपुरका स्थानीय ब्यवसायीले पालिकालाई विगत तिन वर्षदेखि विवादित बनाउदै आएको यस समयमा सहनीले बहाल रकम तिर्न शुरुवात गरेको भन्दै उपमहानगरपालिकाले उनलाई सम्मान गरेको हो ।
मिना बजारको सटरमा फलफूलको व्यवसाय गर्दै आएका सहनीले पाँच लाख ४६ हजार रकम एकमुष्ठ बुझाएका हुन् । उनलाई नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोलाप्रसाद अधिकारीले सम्मान गरेकाे हाे ।। सहनीले २८,२९,३० र ३१ नम्बरको चारवटा सटर प्रयोग गर्दै आएका छन् । एकमुष्ठ रकम बुझाएका सहनीले पाँच प्रतिशत छुट सुविधा समेत पाएका छन् ।
हाल जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको गुदरी बजारको एक सय एक र मिना बजारको ३३ वटा सटर ब्यवसायिक प्रयोजनका लागि प्रयोग भइरहेका छन् । व्यवसायिक प्रयोजनका लागि प्रयोग भइरहेका यी सटरहरुको बहाल रकम बक्यौता अझै बाँकी छ ।
उक्त सबै सटरको रकम आर्थिक वर्ष २०७६/०७७ देखि नै बाँकी रहेको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला अधिकारीले जानकारी दिनुभएको छ । उहाँले बाकीँ बहाल रकम पुष मसान्त भित्र बुझाए पाँच प्रतिशत छुट दिने निर्णय गरेको समेत जानकारी दिनुभएको छ ।