close

झाँक्री नाचका लागि प्रसिद्ध बागलुङको चामीद्वार

झाँक्री नाचका लागि प्रसिद्ध बागलुङको चामीद्वार

Trulli
ADVERTISEMENT

गण्डकी । बलबहादुर विक चामीद्वारका रैथाने हुन् । उनी १३ वर्षको उमेरदेखि नै झाँक्री संस्कृतिसँग जोडिएका छन् । उनी अहिले ४० वर्षका भए । 'झाँक्री नाच त हाम्रो रगतवंशबाट आएको परम्परा हो', विकले भने, 'धेरैतिर यो लोप भइसक्यो, हामीले जेनतेन जोगाएका छौँ ।'

 विकको भनाइमा पहिले झाँक्री परम्परालाई बढीजसो रुढी मान्यतासँग जोड्ने गरिए पनि पछि त्यो नाच र संस्कृतिका रुपमा चिनिँदै गएको छ । उहाँले नाच देखाउनकै लागि आफूहरु पोखरालगायत ठूला सहर र गाउँठाउँसम्म पुग्ने गरेको सुनाए ।    'आफ्नो संस्कृति लिएर जाँदा कतै पुरस्कार मिल्छ, कतै पैसा दिन्छन्', विकले भने, 'मेला, महोत्सव हुँदा परम्परात नाचका रुपमा यसलाई स्थान दिइन्छ ।' जिल्लाको पहिचान दिलाउने मौलिक संस्कृतिका रुपमा झाँक्री नाचलाई बाहिरी जिल्लामा पनि प्रदर्शनीका लागि लाने गरिएको छ ।

    नाचमा झाँक्री (कलाकार) को पहिरन र साजसज्जाले नै उक्त नाचप्रति सुरुमै जो कोही जिज्ञासु बनिहाल्छन् । अनौठा वस्तु र सामग्री जडित वेषभूषामा सजिएर कलाकार नाचमा प्रस्तुत हुन्छन् । शिरमा सेतो धरो गुथ्ने, दौरासुरुवाल लगाउने, रुद्राक्ष, रिठा र कौराको माला पहिरने झाँक्री त्यतिमै मात्र सीमित हुँदैनन् ।

 विकका अनुसार शिरमा गुथेको धरोमा डाँफे, मुनाल र कालिजको प्वाँख राखिन्छ । कोखनेर बँदेलको दारा र कम्मरमा रातेको छाला हुन्छ । गाईबस्तुलाई लगाइदिने जस्तो घण्ट (घाँडो) को माला नै बनाएर गलामा लगाउने गरिन्छ । झाँक्रीले बजाउने ढ्याङ्ग्रो पनि विशेष प्रकारले बनाइएको हुन्छ ।
    
    खर्सुङको काठ र घोरलको छालाबाट ढ्याङ्ग्रो तयार हुन्छ । ढ्याङ्ग्रो बजाउने गजा बजरदन्तीको हुन्छ । चमेली गुराँसको हाँगाबाट हातमा बाला बनाएर लगाइन्छ । जसलाई भोल्टो भनिन्छ । जीवजन्तुको छाला, दारा र प्वाँख ल्याउन कसरी सम्भव हुन्छ त रु विकले न्नु, 'वन्यजन्तु मार्न पाइँदैन, लेक, बुकीतिर मरेका जन्तु भेटिन्छन् त्यहीँबाट ल्याउँछौँ, डाँफे, मुनालले पनि बेलाबेला प्वाँख फेर्ने गर्छन्, त्यो खोजेर ल्याउने हो ।'

    पितापुर्खाका पालादेखि नै झाँक्री बस्ने, नाच्ने चलन रहेको चामीद्वारका स्थानीय तुलसी विकले बताए। 'गाउँको पुरानो संस्कृति हो, नाच लिएर झाँक्री धेरै ठाउँमा पुग्नुहुन्छ, सबैले विश्वास गरेर बोलाउँछन्', उनले भने, 'पहिलपहिले अरु समुदायमा पनि प्रचलित थियो, अहिले दलित समुदायले यसलाई जोगाएको छ ।'

    धामीझाँक्रीको परम्परासँग जोडिए पनि अहिले गाउँठाउँको पहिचान र संस्कृतिका रुपमा झाँक्री नाचले ठाउँ लिएको स्थानीयवासी बताउँछन् । अन्धविश्वासमा परेर धामीझाँक्रीकहाँ झारफुक गर्न जाने, विमार निको हुन्छ भन्ने रुढी सोच भने हट्दै गएको वडाध्यक्ष उमेशकुमार बुढामगरले बताए।

    'झाँक्री नाच पुस्तौँदेखिको संस्कृति हो, पहिलेपहिले वर्षा नहुँदा, प्राकृतिक विपत्ति पर्दा पनि यो नाच देखाउने, गाउँगाउँ डुल्ने चलन थियो', उनले भने, 'अहिले भने त्यस्तो छैन, तर मौलिक नाच र कलाका रुपमा देखाउने गरिन्छ, झाँक्रीको विधि जान्ने पनि धेरै कम छन् ।'

    वडाध्यक्ष बुढामगरले पहिले मगर समुदायमा पनि झाँक्री संस्कृति चल्तीमा रहे पनि पछि दलित समुदायमा खुम्चँदै गएको बताए। 'खडेरीप¥यो भने बराह पूजा, पानीको पूजा गर्ने परम्परा थियो, त्यहीँबेला झाँक्री बस्ने, नाच्ने हुन्थ्यो, म पनि कतिपटक सहभागी भएको छु', उनले स्मरण गर्दै भने ।

  वडाध्यक्ष बुढामगरले हुँदाहुँदा अहिले त दलका चुनावीसभामा पनि झाँक्री नाच आकर्षण बन्ने गरेको सुनाए । बराह रिसाएर पानी नपर्दा उनलाई खुसी पार्न झाँक्री नाच गर्ने चलन अहिले हराएको उनको भनाइ छ । 'पानीका मुहान, देवीदेउताका मठमन्दिरमा पूजाआजा गर्ने, झाँक बस्ने गर्थे', उनले भने ।

    'ग्रहदशा काट्ने, हेराउने, कुलपितृ बेलाउने, तन्त्रमन्त्र गराउने र आधुुनिक औषधोपचारले रोग निको नहुँदा धामीझाँक्रीकहाँ पुग्ने प्रवृत्ति भने अझै पनि रहेको छ', वडाध्यक्ष बुढामगरले भने । झाँक्री (कलाकार)का अगुवा विकले रोगबिमारसँग आफूहरु लड्न नसक्ने बताए । 'बिरामीलाई अल्झाएर राख्दैनौँ, अस्पताल जान भन्छौँ, कतैबाट पनि निको नभएर आउनुहुन्छ, त्यस्तो बेला हाम्रो विधिबाट गर्ने प्रयास गर्छौं', उनले भने, 'झाँक बस्दा तान्त्रिक विधि हुन्छ, बजाउने, नाच्नेको पनि आफ्नै प्रक्रिया हुन्छ ।'

    विकले बाउबाजेले चलाएको संस्कृति भएकाले आपूmहरु त्यसको संरक्षणमा लागेको बताए । 'यो त पेसा जस्तो पनि हो, संस्कृति पनि हो', उनले भने, 'झाँक्री संस्कृति धान्न मैले नै ११ जना चेला तयार पारेको छु, मसँगै नाचमा हिँड्ने पनि धेरैजना हुनुहुन्छ ।' झाँक्री नाच समूहमा देखाउने गरिन्छ । मेलापर्वमा मात्र सीमित नभएर पितृ उद्धार, कुलपूजा, प्रकृति पूजा आदिमा पनि झाँक्री बस्ने, नाच देखाउने परम्परा छ । ढोरपाटनमा बढी चल्तीमा रहे पनि छिमेकी निसीखोला, तमानखोला गाउँपालिकालगायत ठाउँमा पनि झाँक्री नाच प्रचलित छ ।