काठमाडौं । नेपाल नगरपालिका संघको आठौं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु भएको छ । सोमबारदेखि काठमाडौंको राष्ट्रिय सभागृहमा महाधिवेशन सुरु भएको हो ।
कार्यक्रमको उद्घाटन नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । कार्यक्रम आजदेखि बुधबारसम्म तीन दिन सञ्चालन हुने नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधी देवकोटाले जानकारी दिएका छन् ।
उनका अनुसार महाधिवेशनबाट नगरपालिकाले भोग्दै आएको समस्या, अवसर र अभावबारे छलफल हुने जनाइएको छ । उनले तीन दिने कार्यक्रममार्फत आगामी पाँच वर्षको लागि नयाँ नेतृत्वको चयन हुने बताए ।
मुलुकले पाँच वर्ष अघिबाटै स्थानीय सरकार पाएपनि केन्द्रीय सरकारले आवश्यक नीति तथा कानुन निर्माण नभएकोले विकास निर्माण कार्यमा ढिलाई भएको उनको अनुभव छ । उनले सरकारले कानुन नबनाएकोले स्थानीय तहले पनि आवश्यक कानुन निर्माण हुन नसक्नुमा दुखेसो पोखे ।
'कानुन नआएकाले धेरै बजेट अनावश्यक रुपमा खर्च भएको छ। तोकिएको बजेटभन्दा पनि अन्य क्षेत्रमा खर्च भएको छ, ' उनले भने ।
प्रधानमन्त्री देउवाले नगरपालिकाले स्थानीय स्रोत र साधनको सदुप्रयोग गर्दै जनताको आवश्यकता अनुसारको विकास निर्माण कार्य गर्नुपर्ने बताए । उनले नेपाल नगरपालिका संघ सबै नगरपालिकाको अभिभावक भएकाले सोही अनुरुप नीति तथा कानुन निर्माण गर्नुपर्ने सुनाए ।
'स्थानीय जनताको आवश्यकता अनुसारको सेवा वितरण गर्दै आएको छ । नगरपालिकाले आफ्नो कार्यकाललाई पारदशिकता र आवश्कता अनुसार विकास गर्न आवश्यक छ,' उनले भने, 'स्थानीय तहको स्रोतको पहिचान र परिचालन गर्दै विकास निर्माण कार्य गर्न आवश्यक छ ।'
कार्यक्रममा मुलुकभरका नगरपालिकाहरुको नगरप्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको जनाइएको छ । संघ मुलुकभरका नगरपालिकाहरुकाे छाता संगठन हाे ।