काठमाडौ । राष्ट्रिय गाउँसभा महासंघका सल्लाहकार नारायण प्रसाद कोइरालाले स्थानीय तहले आफ्नो अधिकार पूर्ण रुपमा प्रयोग गर्न नपाएको बताए । राष्ट्रिय गाउँपालिका महासंघद्धारा आयोजित तेस्रो महाधिवेशनको उद्घाटन समारोहमा पुगेका उनले यस्ताे बताएका हुन् ।
उनका अनुसार स्थानीय तहसँग नेपालको संविधान २०७२ ले दिएको अधिकार कागजी पोकोको रुपमा मात्रै छ । संविधानले दिएको अधिकार प्रयोग गर्नको लागि माथिल्लाे तहबाट विभिन्न समस्या खडा गरेको उनको आरोप छ ।
उनले केन्द्रीय सरकारलाई स्थानीय तहको कुनै मतलब नभएको बताए । उनले भने, 'सम्मानीय प्रधानमन्त्री कार्यक्रमको उद्घाटन गरेर जानु भयो । स्थानीय तहको चासो भएको भए उहाँ केही बेर हाम्रो गुनासो सुनेर जानु हुन्थ्यो ।'
उनले मुलुकभरका स्थानीय तहका जनप्रतिनिधिले सोचे अनुरुप जनता र आफ्नो पालिकाको क्षेत्रमा सेवा गर्न नसकेको बताए । केही काम गर्न खोजे पनि माथिल्लो तहको निकायबाट विभिन्न फोन गरेर रोक्ने खोज्ने उनले बताए । उनले थपे, 'जनताको पनि माग छ । आवश्यकता छ । सो पुरा नगरेपछि स्थानीय तहमा पनि घण्टी बज्न सुरु हुन्छ ।'