close

मन्त्रीलाई पराजित गर्ने स्वतन्त्र पार्टीका उम्मेदवार

मन्त्रीलाई पराजित गर्ने स्वतन्त्र पार्टीका उम्मेदवार

Trulli
ADVERTISEMENT

काठमाडौं । मतदाताको मन कुनबेला बदलिन्छ र त्यसले राजनीतिमा कस्तो फेरबदल ल्याइदिन्छ भन्ने कुरा मतगणना भएपछि मात्रै थाहा हुन्छ । निर्वाचन अघि गरिएको समिक्षाभन्दा मतगणनापछि भिन्न परिणाम हात लागेको छ । 

राजनीतिक दल र तिनका नेताहरुले आफ्नो ठानेका क्षेत्रमा पनि यस पटकको निर्वाचनको परिणाम फरक देखियो । यसकारण मतदाताको स्वभाव र चाहनाको ख्याल गर्ने उम्मेदवार सफल भए भने निर्वाचनलाई परम्परागत रुपमा लिएका उम्मेदवार पराजित भएका छन् । 

भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचनमा सात स्थानमा जीत आफ्नो हात पारेको छ । लामो समयदेखि नेपाली राजनीतिमा स्थापित कतिपय नेतालाई रास्वपाका उम्मेदवारले पराजित गरेका छन् । जसमा बहालवाला मन्त्री पनि परेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग पराजित हुनेमा ललितपुर क्षेत्र नं ३ बाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, काठमाडौँ क्षेत्र नं ८ मा उम्मेदवार रहेका संस्कति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र चितवन क्षेत्र नं २ बाट राज्यमन्त्री उमेश श्रेष्ठ छन्।  

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौँ क्षेत्र नं ६ मा शिशिर खनाल १४ हजार दुई सय चार मतसहित निर्वाचित हुँदा नेकपा(एमाले)का उम्मेदावर सर्वेन्द्र खनालले आठ हजार ९११ मत पाए । भने कांग्रेसका भीमसेनदास प्रधानले आठ हजार ८०५ मत पाए । 

राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएका विश्वनाथ पौडेल र पूर्वअर्थमन्त्री एमाले उम्मेदवार सुरेन्द्र पाण्डे चितवनको क्षेत्र नं १ बाट स्वतन्त्र पार्टीका हरि ढकालसँँग पराजित भए । 

काठमाडौँ क्षेत्र नं ७ मा स्वतन्त्र पार्टीकै गणेश पराजुली आठ हजार ७४३ मत प्राप्त गरी विजयी भए । एमालेका श्यामकुमार घिमिरेले छ हजार आठ सय र माओवादी केन्द्रका मानुषी यमी भट्टराईले छ हजार ६३ मत पाए । 

काठमाडौँ क्षेत्र नं ८ मा स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग पर्यटनमन्त्री जीवनराम श्रेष्ठ पराजित भए। श्रेष्ठले १० हजार ११२ मत प्राप्त गरी विजयी हुँदा स्थानीय तहको निर्वाचनका चर्चित उम्मेदवार हाम्रो नेपाली पार्टीका सुमन सायमीले छ हजार १७९ मत पाए । यस्तै, एमालेका उम्मेदवार शिवसुन्दर राजवैद्यले तीन हजार आठ सय ९१ मत पाउँदा मन्त्री श्रेष्ठले चार हजार ८८१ मत पाए। 

उता चितवन–२ बाट स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४९ हजार २६४ मत ल्याई निर्वाचित हुँदा उनका प्रतिस्पर्धी, कांग्रेस उम्मेदवार राज्यमन्त्री उमेश श्रेष्ठले १४ हजार ९८३ मत र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४७ मत पाए । 

स्वतन्त्र पार्टीकै सोविता गौतम काठमाडौँ क्षेत्र नं २ बाट निर्वाचित भइन् । उनले १५ हजार दुई सय ३८ मत प्राप्त गर्दा एमालेका मणिराम फुँयालले ११ हजार ५६६ मत, राप्रपाका कुन्तीदेवी पोखरेलले ११ हजार २४ मत र माओवादीका उम्मेदवार ओनसरी घर्तीले नौ हजार ४५९ मत पाइन् । 

ललितपुर क्षेत्र नं ३ बाट सोही पार्टीकी तोसिमा कार्कीले ३१ हजार १३६ मत प्राप्त गरी विजयी भइन् । सो क्षेत्रमा दोस्रो स्थानमा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत र तेस्रो स्थानमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आठ हजार ७६९ मत पाइन्।