close

यि ५ भाई जो स्वतन्त्र भई संसद छिर्दैछन्

यि ५ भाई जो स्वतन्त्र भई संसद छिर्दैछन्

Trulli
ADVERTISEMENT

काठमाडौं। निर्वाचनमा होम्मीएपछि जित हार स्वभाविक नै हो । तर पनि निर्वाचनमा उम्मेदवार बन्दै गर्दा कसैले पनि हार्छु भनेर उम्मेदवारी दिएको हुदैन । तर जित त केवल एक जनाको हुने हो प्रतिस्पर्धी हजारौ भएपनि । प्रतिनिधिसभा निर्वाचनमा पनि अहिलेसम्म दलबाटै धेरै नेताले जितेका छन् । तर ५ जना यस्ता उम्मेदवार संसद प्रवेश गर्दैछन्, जो स्वतन्त्र उम्मेदवारका रुपमा चुनावमा होमिए र दलका उम्मेदवारलाई पराजित गर्दै संसद भवनसम्मको यात्रा तय गर्न सफल बने । 

हुनत कोही आफ्नो एजेण्डा र आफुले समाजमा गरेको योगदानलाई आधार मानेर चुनावमा स्वतन्त्र रुपमा होम्मीन्छन् भने कोही दलले टिकट नदिएपछि विद्रोह गर्दै दलकै विरुद्ध स्वतन्त्र उम्मेदवारका रुपमा खडा भई निर्वाचन जित्छन् । यस्तै परिणाम यस पटकको मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनबाट पनि आएको छ ।

अहिलेसम्म रौतहट निर्वाचन क्षेत्र नं १ वाट प्रभु शाह, सर्लाही क्षेत्र नम्बर ४ स्वतन्त्रबाट कांग्रेसका बागी उम्मेदवार अमरेशकुमार सिंह, योगेन्द्र मण्डल, मोरङ–५,रौतहटको क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार किरण साह र बर्दिया क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी निर्वाचित भएका छन् । अव यि पाँचै जना संसदको सदस्यका रुपमा प्रतिनिधिसभामा प्रवेश गर्नेछन्। 

प्रभु साह रौतहट निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएका छन् । साहले निकटतम् प्रतिस्पर्धी अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैसवाललाई ७ हजार २३७ मतान्तरले पराजित गरे । नेकपा एमालेका तत्कालीन स्थायी समिति सदस्य समेत रहेका साहले मनोनयन दर्ताको अन्तिम समयमा पार्टीको टिकट त्यागेर स्वतन्त्रबाट उम्मेवारी दर्ता गराएका थिए । 

सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्रबाट कांग्रेसका बागी उम्मेदवार अमरेशकुमार सिंह निर्वाचित भएका छन् । सिंहले २० हजार १७ मत ल्याउँदै विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र कुमारलाई १ हजार ७६५ मतान्तरले पराजित गरेका हुन् । कांग्रेसले सिंहलाई टिकट नदिएर नागेन्द्रलाई उठाए पछि उनि स्वतन्त्र भएर निर्वाचनमा होम्मीएकोमा जित हासिल गर्न सफल भएका छन् । 

मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनसहित एमाले र जसपाको पनि गठबन्धनलाई फराकिलो मतान्तरले हराउँदै स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल (जोगी) विजयी भएका हुन् । मण्डलले २१ हजार ८ सय २० मत ल्याउदा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४ सय ८६ मत र एमाले, जसपा गठबन्धनमा जसपाका राजकुमार यादवले १७ हजार ३ सय ९० मत पाएका छन् ।

योगेन्द्रलाई एमालेले उक्त क्षेत्रबाट सर्वसम्मत बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउने तयारी गरेको थियो । तर उम्मेदवार मनोनयनको अघिल्लो दिन एमाले र जसपाबीच चुनावी गठबन्धन हुँदा यो क्षेत्र एमालेले पालालाई सुम्पेपछि मण्डलले एमाले त्यागेर स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।

रौतहटको क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार किरण साह विजयी भएका छन् । उनले नेपाली कांग्रेसका फिरदोस आलमलाई ४ हजार ५९४ मतान्तरले पराजित गरेका हुन् । साह ३२ हजार ८४२ मत ल्याउँदै विजयी भएका हुन् ।  एमालेमा रहेका शाहलाई पार्टीले टिकट नदिएको र उनको क्षेत्र जसपाको भागमा परेपछि साहले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । उनी क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार प्रभु साह प्यानलका हुन् ।

बर्दिया क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी निर्वाचित भएका छन् । नागरिक उन्मुक्ति पार्टीका नेता उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई १ सय ३६ मतले पराजित गरेका छन् । लालवीर २६ हजार ५२० मत ल्याएर निर्वाचित भएका हुन् । यस क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनामा अदालतले दोषी ठहर्याएपछि कारागारमा रहेका पूर्व सांसद रेशम चौधरीलाई उम्मेदवार बनाएको थियो । तर वर्तमान कानुन बमोजिम उनको उम्मेदवारी खारेज हुने सम्भावना देखेपछि नागरिक उन्मुक्तिले पहिले नै लालवीरको उम्मेदवारी दर्ता गराएको थियो । लालवीर रेशमका पिता हुन् । 

यसरी समग्रतामा हेर्दा स्वतन्त्र जितेका ५ जना मध्ये ३ जना नेकपा एमालेबाट टिकट नपाएर विजयी बनेका उम्मेदवार छन् भने अर्का अमरेश कुमार सिंह नेपाली काँग्रेसबाट टिकट नपाएपछि बागी उठेर निर्वाचित भएका सांसद हुन् र लालतिर भने नागरिक उन्मुक्ति पार्टीमै जानेछन् । तर एमालेका ३ जना र काँग्रेसका सिंहले कसरी कसलाई सघाउँछन् त्यो भने अहिल्यै भन्न सकिने अवस्था छैन ।