मोरङ । मोरङको निर्वाचन क्षेत्र नं ६ को प्रतिनिधिसभातर्फ सत्ता गठबन्धन दल नेपाली कांग्रेसका डा शेखर कोइरालाले अग्रता कायम गरेका छन् । उनी एक हजार सात सय ७७ मतसहित अगाडि छन् ।
उनलाई नेकपा एमालेका लालबाबु पण्डितले पछ्याउँदै आएका छन् । मोरङका प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले चार हजार छ सय ९६ मतगणनामा गर्दा पण्डितले एक हजार छ सय ३२ र राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले पाँच सय १३ प्राप्त गरेका छन् ।
यसैगरी क्षेत्र नं ६ (१) प्रदेशसभातर्फ एमालेकी रीता न्यौपाले एक हजार नौ सय ४६, नेकपा माओवादी केन्द्रका जीवन आचार्यले एक हजार चार सय १२ र राप्रपाका हीरा भट्टराईले आठ सय ५७ मत ल्याएका छन् ।
यस्तै क्षेत्र नं ५ प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले तीन हजार छ सय ९३,जसपा नेपालका राजकुमार यादवले तीन हजार दुई सय ९४ र नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डलले तीन हजार एक सय २२ मत पाएका छन्।
यसैगरी क्षेत्र नं ५‘क’ प्रदेश सभातर्फ कांग्रेसका गयानन्द मण्डल गनगाईले पाँच हजार छ सय १८, एमालेका सन्तोषकुमार साहले चार हजार आठ सय ९९ र स्वतन्त्र उम्मेदवार रुपेशकुमार मण्डलले दुई हजार एक सय ७४ मत ल्याएका छन् ।
मोरङ ४ मा माओवादीका मोदीको अग्रता
मोरङ ४ को प्रतिनिधिसभा सदस्य तर्फ सत्ता गठबन्धन दलका उम्मेदवार नेकपा माओवादी केन्द्रका अमनलाल मोदी अग्रता कायम गरेका छन् । उनले पाँच हजार सात सय ९२ मतसहित अग्र स्थानमा भएको जनाइएको छ ।
जिल्ला प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी बुढाथोकीले सार्वजनिक गरेको मत परिणामअनुसार एमालेका विनोदप्रसाद ढकालले चार हजार एक सय ४९ र राप्रपाका रबी रिजालले तीन सय २६ मत प्राप्त गरेका छन् । उनीहरुले मतगणना भएको ११ हजार चार सय ७९ मा सो मत प्राप्त गरेको हो ।
यसैगरी क्षेत्र नं ४(क) प्रदेश सभातर्फ सत्ता गठबन्धनतर्फबाट कांग्रेसका गुरुराज घिमिरेले चार हजार एक सय ३६, एमालेका जयप्रकाश चौधरीले तीन हजार चार सय सात र राप्रपाका आशनारायण माझी थारुले छ सय ९९ मत ल्याएका छन् । नौ हजार एक सय १७ मतगणना सम्पन्न भएको छ ।