चितवन । भरतपुर महानगरपालिका–१९ का वडा सदस्य राजकुमार गुरुङको गाडीले ठक्कर दिँदा नेपाली सेनाका अमल्दारको मृत्यु भएको छ ।
मङ्गलपुरबाट रामपुरतर्फ जाँदै गरेको गुरुङ चढेको ग२च ९०६२ नम्बरको गाडीले भरतपुर महानगरपालिका–१५ शीतलचोक नजिक विपरीत दिशाबाट आउँदै गरेको बा३३प १४५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गाडीको ठक्करबाट मोटरसाइकलमा सवार कालीबहादुर गणमा कार्यरत अमल्दार तनहुँको व्यास नगरपालिका–१२ घर भएका ३३ वर्षीय सुरज गुरुङको मृत्यु भएको हो ।
उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कार र चालक वडा सदस्य प्रहरीको नियन्त्रणमा छन् ।
वडा सदस्य गुरुङले मादक पदार्थ सेवन गरेको पाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।
पक्राउ परेका गुरुङ हालै मात्रै नेकपा (एमाले)बाट वडा सदस्यमा निर्वाचित भएका हुन् ।